प्रहरी र स्थानीय व्यापारीसंग मिलेर अवैध रुपमा बालुवा निकासी

भदौ १७, सिन्धुपाल्चोक । जिल्लाका नदीमा अवैध रुपमा तस्करीले स्काईभेटर लगाएर खुलेआम बालुवा उत्खनन् गरिरहेको पाइएको छ। वर्षायाममा बालुवा उत्खननमा रोक लगाएको प्रहरी र जिल्ला प्रशासनले बताए पनि बालुवा तस्करी भइरहेको छ। नदीमा पानीको बहाब बढेसँगै अवैध बालुवा निकाल्नेको भिड लागेको छ। बालुवा तस्करहरुले सुकुटेदेखि बाह्रबिसेसम्म लगभग ५० भन्दा धेरै स्काभेटर प्रयोग गरेको पाइएको छ।

त्यस्तै काभ्रे र सिन्धुपाल्चोकको सिमानामा रहेको इन्द्रावती नदीकिनारमा पनि बालुवा तस्करीको समूह सक्रिय भएर लागेको पार्इएको छ। दिनप्रतिदिन तस्करीको सञ्जाल बढ्दै जाँदा स्थानीय सरकार, प्रहरी प्रशासनले खासै ध्यान नदिएको र बालुवा उत्खननमा पहुँचवाल व्यक्तिको आडमा हुने गरेको स्रोतको दाबी छ। बालुवा उत्खननमा कसैले ध्यान नपुगेपछि सडक किनारा र नदी आसपासमा स्काईभेटरहरु दिउँसो सुनसान बस्ने भएपनि रातको समयमा उत्खनन गर्ने गरिएको सुकुटेका स्थानीय रमेश खड्काले बताए। स्काईभेटरले सुकुटे ठोकर्पा जोड्ने पुलको ३ सय मिटर भित्र उत्खनन गरिएको छ। पुलको आसपास १५ सय मिटिर उत्खनन् गर्न नपाईने मापदण्ड रहेपनि मापदण्ड विपरित ढुंगागिटी, बालुवा उत्खनन् गर्दा सुनकोशी माथि रहेको पुल जोखिममा पर्न सक्ने उनीहरुको भनाइ छ। अवैध बालुवा निकासीमा क्रसर व्यवसायीहरुको संलग्नता नदेखिए पनि काठमाडौं, बनेपा तथा सिन्धुपाल्चोकमा रहेका बालुवा तस्करहरुको लगानी रहेको एक स्थानीयले बताए। उनका अनुसार बालुवा तस्करहरुले स्थानीय केही व्यापारीहरुसँग मिली बालुवा बिक्रीबाट आएको रकम रेखदेख गर्ने स्थानीय तथा प्रहरीलाई दिने गरेको स्रोतको दावी छ । बालुवा अवैध निकासीले सुकुटे आसपासका बस्ती समेत जोखिममा रहेको स्थानीय माधव प्याकुरेलले बताए।

वर्षायाममा बालुवाको अभाव भएपछि तस्करहरुले अवैध ढंगबाट बालुवा निकासी गरी चर्को मूल्यमा बिक्रीवितरण गर्दै आएका छन्। वर्षा लागेसँगै स्थानीय सरकारले बालुवा निकासीमा रोक लगाएको छ। दैनिक ज्याला गर्ने मजदुरलाई साबेल प्रयोग गरेर बालुवा निकाल्न रोक लगाएर तस्करलाई खुला गरिएको एक स्थानीय मजदुरले बताए। ‘हामीले सावेल प्रयोग गरेर निकाल्न रोक लगाएको छ तर ठुल–ठुला व्यापारीहरु स्काईभेटर लगाएर निकाल्छन् उनीहरुलाई कुनै कानुन लाग्दैन’ –स्थानीय मजदुरले भने। सुकुटे पुल मुनी बगरमा केही मजदुरहरुलाई रुघ्न लगाई बालुवा तस्करीहरुले प्रहरीको आँखा छली स्काईभेटर मार्फत बालुवा निकाली रहेका छन्। ‘हामी त काम गर्ने मजदुर हौं, हामीलाई कमल सरले यहाँ राख्नु भएको हो, दुईतिन दिनको फरकमा स्काईभेटरले बालुवा निकाल्छ’, बालुवा कुर्न बसेका कैलालीका एक मजदुरले भने। जथाभावी उत्खननले नदीमा ठुल–ठुला खाल्डा पर्नुको साथै नदीले धार नै परिवर्तन गरेका छन्। अनियन्त्रित नदी उत्खनन्ले प्राकृतिक स्वरुप नै बिगारेको छ। वर्षामा नदीजन्य पदार्थ निकाल्न नपाइने नियम विपरित स्काईभेटर लगाइदा समेत प्रहरी प्रशासन मुकदर्शक बनेको भन्दै स्थानीय आक्रोसित बनेका छन्।

नदीमा जथाभावी मेसिनरी औजार प्रयोग गर्ने व्यक्ति तथा व्यवसायीसँग कडा रुपमा प्रस्तुत हुने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारी बताउँछन्। ‘प्रहरीलाई अनुगमन तीव्र बनाइ त्यस्ता कार्य रोक्न निर्देशन दिइसकेका छौँ,’ – उनले भने। ‘त्यस किसिमका कार्यलाई रोकिने मात्र होईन कडा कारबाही गरिन्छ।’ स्थानीय प्रहरीले खोलामा स्काईभटेर लगाएको नदेखिएको बताएको उनको भनाइ छ। स्काईभेटर मात्रै होईन असार, साउन र भदौमा मानविय शक्ति लगाएर समेत नदी उत्खनन् गर्न नपाइने व्यवस्था छ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.