भदौ १७, धनगढी । कैलालीमा एक १४ वर्षीया बालिका आफ्नै साथीको बाबुबाट बलात्कृत भएकी छन् । कञ्चनपुरमा निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाले मुलुकलाई आक्रोशित तथा स्तब्ध बनाईरहेको बेला कैलालीमा फेरि १४ वर्षीया बालिका आफ्नै साथीको बाबुबाट बलात्कृत भएकी हुन् ।
घोडाघोडी नगरपालिका ६ की १४ वर्षिय बालिका आफ्नै साथीका बुवा (नाताले फुपुका छोरा) बाट बलात्कृत भएकी हुन् । बलात्कार आरोप लागेका ३३ वर्षका हर्कबहादुर कुँवर फरार रहेको कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । भदौ १३ गते राति घरमा कोही नभएको मौका छोपेर छिमेकी समेत रहेका कुँवरले बालिकाकै चुन्नीले मुख र हात बाँधेर बलात्कार गरेका थिए । आरोपी कुँवरकी छोरी र बलात्कृत बालिका स्थानीय स्कुलमा कक्षा ७ मा अध्ययनरत छन्। बालिकाका आमाबुवा पहाड (अछाम) मा भएका बेला उनीमाथि बलात्कार भएको हो। कान्छा बाजेसँगै बसेर स्कुल पढिरहेकी बालिकामाथि १३ गते बलात्कार भए पनि परिवारका सदस्यहरूले १५ गते मात्रै प्रहरीलाई जानकारी दिएका थिए ।
घटना हुँदाको दिन बालिकाका बाजे बाख्राको खोर भएको स्थानका सुतेकाले एक्लै घरमा भएकी बालिकामाथि बलात्कार भएको प्रारम्भिक रुपमा खुलेको प्रहरीले जनाएको छ। कुँवरमाथि प्रहरीले जबरजस्ती करणीको मुद्धा दर्ता गरी खोजीकार्य जारी राखिएको प्रहरी प्रमुख एसपी घिमिरेले बताए ।