भदौ १७, दाङ । आफूलाई बोक्सी लागेको भन्दै दाङमा बुहारीले सासूको हत्या गरेकी छन । दंगीशरण गाउँपालिका–३ की टन्की रावतले ६९ वर्षीया सासू खोपी रावतको हत्या गरेकी हुन ।
आफ्नै सासूलाई बोक्सीको आरोप लगाइ हत्या गरी टन्की फरार भएकी थीन । उनलाई शनिबार इलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरी सार्वजनिक गरेको छ ।
सासूले बोक्सी लगाएकै कारण आफू पटक पटक बिरामी परेको भन्दै सल्यानमा लगेर हत्या गरेको टन्कीले बयान दिएकी छन । भदौ २ गते सल्यान लगेको र ५ गते हत्या गरेको उनले बयानमा उल्लेख गरेकी हुन ।
पत्रकार सम्मेलनमा घटनाका बारेमा जानकारी दिँदै इप्रका तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले भने ‘धामी झाँक्रीलाई हेराउदा तेरै घरभित्र र तेरै कुलका बोक्सी लागेर तलाई यसरी सताएका छन्’ भनेको हुँदा त्यही भ्रम र अन्धविश्वासमा परेर सासूको हत्या गरेको देखिन्छ,’।
धामी झाँक्रीको गलत कुराको विश्वासमा परेर सासू नै बोक्सी भएको र उनी बाँचुञ्जेल आफूलाई कहिलै सञ्चो नहुने भ्रमले गर्दा बुहारीले सासूको निर्ममतापूर्वक जंगलमा लगेर हत्या गरेको भन्ने खुल्न आएको उपरीक्षक सापकोटाले बताए । इलाका प्रहरी कार्यालयले टन्कीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । भदौ १७