जेठ १२, काठमाडौं । वागमति प्रदेशसभा सदस्य विमल ठकुरीले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ (२) को विकासका लागि प्रदेश सभाको ध्यानाकर्षण गरेका छन् ।
बुधबार प्रदेशसभाको बैठकको विशेष समयमा बोल्दै ठकुरीले विकासमा पछाडि परेको क्षेत्रहरूलाई प्राथमिकतामा राखेर विकास योजना, नीति तथा कार्यक्रम ल्याउनु पर्नेमा जोड दिए । सांसद ठकुरीले गोकर्णेश्वर नगरपालिका वडा नं. १ सुन्दरीजलमा शिवपुरी आरक्षणको ढाँट रहेको कारणले त्यस क्षेत्रमा रहेका गाउँबस्तिका स्थानीय जनतालाई आवतजावतमा समस्या भएकोमा ध्यानाकर्षण गर्दै स्थानीय जनतालाई आवतजावतको लागि निःशुल्क र सहज व्यवस्था गर्न माग गरे ।
यसैगरी, सांसद ठकुरीले नेपाल ट्रष्टको स्वामित्वमा रहेको गोकर्ण वन क्षेत्रमा पर्खाल सारेर सडक चौंडा गर्न नसकिंदा गुह्येश्वरी–गोकर्ण–सुन्दरीजल जोड्ने बागमति करिडोर सडक बन्न नसकेकोप्रति समेत प्रदेशसभामा आवाज उठाएका छन् । गुह्येश्वरीदेखि सुन्दरीजलसम्म १० कि. मि. मध्ये ५ कि।मि। सडक बनि सक्दा पनि नेपाल ट्रष्टको स्वामित्वमा रहेको गोकर्ण वन क्षेत्रको पर्खाल सारेर सडक चौंडा बनाउन नसकिंदा गोकर्ण–उत्तरगया–सुन्दरीजल जोड्ने बाँकी ५ कि.मि. करिडोर सडक निर्माण हुन बाँकी रहेको प्रति उनले ध्यानाकर्षण गराए । सांसद ठकुरीले सो करिडोर सडक खण्ड निर्माणका लागि प्राथमिकता दिन प्रदेश सरकारलाई आग्रह गरे ।
उनले प्रदेश सभा क्षेत्रका वडामा एक करोड रुपैयाँभन्दा कम लागतमा विकास निर्माणका काम हुनसक्ने अवस्था नरहेका भन्दै त्यसतर्फ प्रदेश सरकारको ध्यानाकर्षण समेत गराए । उनले क्षेत्रका वडामा सार्थक विकास गर्नका लागि प्रत्येक वडामा एक करोड रुपैयाँका दरले बजेट दिनुपर्ने बताए । सांसद ठकुरीले युवा रोजगारी र उद्यमशीलता बढाउन आवश्यक रहेकोमा जोड दिदैं सरकारका आगामी कार्यक्रमले युवा सशक्तिकरणका कार्यक्रमलाई समेट्नु पर्ने बताए ।