भदौ १६, रोल्पा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले रोल्पाका एक वडा सदस्यको घरजग्गा कब्जा गरेको छ । माडीगाउँपालिका १ पेदीखोलाका वडा सदस्य हरिप्रसाद घर्तीको घरजग्गा बिहीबार दिउँसो विप्लव कार्यकर्ताले कब्जा गरेका हुन् ।
माडीगाउँपालिका स्तरीय नेकपाको ‘जनसत्ता’ र स्थानीय गाउँलेले घरजग्गा कब्जा गरेको नेकपाका नेता एवं माडीगाउँपालिकाका जनसत्ता प्रमुख सूर्य खड्काले जानकारी दिए । वडा सदस्य घर्तीले पेदीखोला गाउँको आसपासका विभिन्न योजनामा आर्थिक हिनामिना गरेको आरोप उनीहरुको छ । आर्थिक पारदर्शिता नगरेसम्म घरजग्गा कब्जा हुने नेता खड्काको भनाइ छ ।
घरजग्गा कब्जा गर्नु अघि घर्तीसँग नेकपाका कार्यकर्ताले वडा सदस्य पदबाट राजीनामा दिनु पर्ने, गाउँकै विद्यालयलाई ७५ हजार दिनुपर्ने र सबै योजनाको खर्च सार्वजनिक गर्नुपर्ने शर्त राखेका थिए । राजीनामा दिएर गाउँपालिका पुगेका सदस्य घर्तीले गाउँ फर्किएर योजनाका खर्चमा पारदर्शिता गर्न नचाहेको र छलफल समेत गर्न अटेरी गरेको भन्दै नेकपाको कार्यकर्ताले भदौ १४ गते दिउँसो झण्डा गाड्दै घरजग्गा कब्जा गरेका हुन् ।
अन्नपूर्णबाट