गहना खोज्ने जात्राका लागि बूढानीलकण्ठ-शङ्खमूलवासीलाई निमन्त्रणा

चैत ७, काठमाडौँ। हाँडीगाउँस्थित गहना पोखरीमा गहना खोज्न गरिने जात्राका लागि बूढानीलकण्ठबाट शङ्खमूलसम्मका स्थानीयलाई निमन्त्रणा गरिएको छ।

काठमाडौँ उपत्यकाका अन्य स्थानमा पाहाँचह्रेका साथै घोडेजात्रा पर्व मनाए पनि हाँडीगाउँ क्षेत्रमा भने यो पर्व मनाइँदैन। हाँडीगाउँमा भने लुकुमाद्यस् का रुपमा लुकाएर राखिएको देवतालाई निकालेर आज पूजा आराधना गरिने परम्परा रहेको काठमाडौँ महानगरपालिका–५ का अध्यक्ष बीरेन्द्र प्रजापतीले जानकारी दिए। आजको एक हप्तामा हाँडीगाउँमा लिङ्गो उठाइन्छ। लिङ्गो उठाएको एक हप्तापछि गहनापोखरीमा गहना खोज्ने जात्रा गर्ने गरी सबै तयारी गरिएको जानकारी पनि उनले दिए।

जात्राका लागि पुजारी समूह, बाजा बजाउने समूहलगायतले भूमिका निर्वाह गर्नेछन्। डङ्गोल, प्रजापतिलगायत जातिको पनि जात्रामा फरक–फरक भूमिका हुने गरेको छ। जात्राका लागि बाजा, बत्तीलगायत व्यवस्थित गरिने वडा सदस्य विजयप्रकाश कर्माचार्यले जानकारी दिए।

जात्राका नाममा रहेको गुठी जग्गा बेचिएपछि जात्राका लागि महानगरपालिकाले पनि सहयोग गर्ने गरेको छ। गुठी संस्थानबाट पूजा सामग्री र बलि सामग्रीको व्यवस्था हुने गरेको वडा कार्यालयले जनाएको छ। हाँडीगाउँ काठमाडौँ उपत्यकाकै पुरानो सहर भएकाले पर्यटकीय रुपमा यसको विकास गरिने भएको छ।

महानगरपालिकाको ११औँ नगर परिषद् बैठकले हाँडीगाउँलाई पूर्वलिच्छविकालीन सहरकै स्वरुपमा विकास गर्न विभिन्न गतिविधि गर्ने निर्णय गरेको पनि वडाध्यक्ष प्रजापतीले बताए। महानगरपालिकाले हाँडीगाउँका विषयमा छट्टै कार्यविधि बनाउन लागेको जनाइएको छ। – रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.