चैत ७, काठमाडौँ । काठमाडौँको बौद्धस्थित कुमारी आवासीय माध्यमिक विद्यालयले आफ्नो विद्यालयको ३६ औँ वार्षिकोत्सवको अवसरमा साहित्य क्षेत्रबाट डा रमेश शुभेच्छुलाई सम्मान गरेको छ ।
वार्षिकोत्सवकै अवसरमा कक्षा बाह्रका विद्यार्थीको विदाई र कक्षा ११ का विद्यार्थीको स्वागत एवम् सम्मान कार्यक्रम समेत गरेका थिए ।शुभेच्छुलाई सो सम्मान नेपाली साहित्यका विविध विधामा कलम चलाउनका साथै साहित्यिक पत्रकारिता र साहित्यको प्रशिक्षण एवम् विविध सङ्घसंस्थामा रहेर पु¥याएको सकारात्मक योगदानका लागि प्रदान गरिएको कुरा उहाँलाई प्राप्त सम्मानपत्रमा उल्लेख गरिएको छ । कार्यक्रममा शुभेच्छुको परिचय प्रस्तुत गर्नुहुँदै विद्यालयका शिक्षक शोभा अधिकारीले उहाँले किशोरवस्थादेखि नेपाली साहित्य र शिक्षा क्षेत्रमा विशेष योगदान पुर्याउनुभएकाले विद्यालय परिवारले यो सम्मान अर्पण गर्ने निर्णय गरेको बताउनुभयो ।
सोही कार्यक्रममा डा. शुभेच्छुसँगै नेपाली गीतसङ्गीत क्षेत्रमा विशिष्ट योगदान पुर्याउनुहुने शिलाबहादुर मोक्तान र कुन्ती मोक्तानलाई गीतसङ्गीत क्षेत्रको सम्मान प्रदान गरिएको थियो । उहाँहरुलाई नेपाली सङ्गीत क्षेत्रमा पुर्याएको योगदानका लागि सम्मान अर्पण गरिएको जानकारी अधिकारीले दिनुभयो । सम्मान एवम् स्वागत–विदाई कार्यक्रममा विशेष अथितिका रुपमा उपस्थित डा. शुभेच्छुले एउटा विद्यालय खोल्नु भनेको एउटा जेल बन्द गर्नु हो, समाजमा एउटा नयाँ चेतनाको चिराग सल्काउनु हो, समाजमा एउटा नयाँ बाटो खन्नु हो, समाजको भविष्यको मार्गचित्र कोर्नु हो, भविष्यमा समाज हाँक्ने नेतृत्वको पक्षपोषण गर्नु हो भन्नुहुँदै कक्षा १२ का विद्यार्थीको अबको बाटो चुनौतिपूर्ण तर आरोहणशील रहेको बताउनुभयो । उहाँले विद्यार्थीहरुलाई अभिप्रेरित गर्नु हुँदै आफ्नो शैक्षिक यात्राका कक्षा १२ पढ्दाका अनुभवलाई पनि सम्झँदै नेपालको शैक्षिक अवस्थाका बारे पनि बताउनुभयो ।
कार्यक्रममा विद्यालयका विविध अतिरिक्त क्रियाकलापमा सहभागी र विजयी छात्रछात्रालाई पुरस्कार अर्पण गरिएको थियो । विद्यालय युरेसिया एकेडेमी प्रा. लिका अध्यक्ष पारशमणि पौडेलको सभाध्यक्षतामा भएको सो कार्यक्रममा कुमारी आवासीय विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष निलकण्ठ ढुगाना, विद्यालयका प्रिन्सिपल सुरेशकुमार भट्टराई, सञ्चालक समितिका पदाधिकारी, अभिभावक र सामाजिक अभियन्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
त्यस्तै विद्यालयले शिक्षा र मानविकीका विविध क्षेत्रमा योगदान पु¥याउनुहुने विभिन्न व्यक्तित्वहरुको सम्मान गर्दै आएको र विद्यालयलाई समुदायसँग जोड्दै आएको कुरा सञ्चालक समतिका सदस्य श्री गौतमले जानकारी दिनुभयो । कार्यक्रममा विद्यालयको मान्यमिक तहका विद्यार्थीहरुले विविध सांस्कृतिक कार्यक्रम आयोजना गरेका थिए ।