चैत २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीचको खेल हेर्न त्रिवि मैदान कीर्तिपुर पुग्नुभएको छ ।
प्रधानमन्त्री नेपाली टोलीको हौसला बढाउन मैदानमा पुग्नुभएको हो । प्रधानमन्त्री खेलअघि त्रिवि मैदान कीर्तिपुर पुग्नुभएको र अहिले खेल हेरिरहनुभएको नेपाल क्रिकेट सङ्घ (क्यान) का म्यानेजर विनोद दासले जानकारी दिनुभयो । दासका अनुसार प्रधानमन्त्री केही समय खेल हेरेर फर्किनुहुनेछ । आईसीसी विश्वकप लिग– २ अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम तथा निर्णायक खेलमा नेपालले अहिले युएईविरुद्ध बलिङ गरिरहेको छ ।

त्रिवि मैदान कीर्तिपुरमा टस हारेको नेपालले पहिले बलिङ गरेको हो । युएईका कप्तान मोहम्मद वासिमले टस जितेर पहिला ब्याटिङ रोजेपछि युएईले ब्याटिङ गरिरहेको छ । युएईले अहिले १० औंं ओभर चलिरहँदा एक विकेट गुमाएर ५६ रन बनाएको छ । नेपालका लागि पहिलो विकेट ललित राजवंशीले लिनुभएको हो ।


