भदौ १५, भक्तपुर । मध्यपुरथिमिको बोडेमा प्रसिद्ध नीलबाराही नाच देखाउन सुरु भएको छ । नाच राति, बिहान र दिउँसो टोल टोलका चोक चोकमा देखाउने गरिन्छ ।
नाच बोडेको नारायणथान लाछीबाट सुरु भई लायकु छेँ, विष्णुघाट, महालक्ष्मी थान, भाँगुटोल, खोंसी टोल, नीलबाराहीस्थान हुँदै पुनः नारायणथानमा समापन गरिने परम्परा छ । प्रत्येक टोलको चोकमा धाँ बाजा, भुस्या, काँय र पाँगा बाजाका तालमा परम्परागत नीलबाराही देवीको नाच देखाउने गरिन्छ । तान्त्रिक नियममा बाँधिएर रहनुपर्ने सो नाचमा देवगणमा भैरव एक, द्वारपाल दुई तथा बाराही, कुमारी, गणेश र सिंह चार चार गरी १९ देवगणको समूह रहेको हुन्छ । देवता र देवताका सहयोगी १९, १९, बाजा बजाउने नौ र गुरु छ गरी नाचमा एकसय जनाभन्दा बढी व्यक्ति क्रियाशील रहने नाचका गुरु तुइकाजी बाडेले जानकारी दिनुभयो ।
इसापूर्व तीनसय वर्ष पहिलादेखि मध्यपुर थिमिको नगदेशमा महाकाली नाच पनि सुरु भएको मानिन्छ । नाचका संयोजक तुइलाल ज्यापूले गाईजात्राको भोलिपल्टको रातिदेखि सञ्चालन हुने महाकाली नाच चार दिनसम्म राति ८ बजेदेखि सुरु भएर १ बजेसम्म चल्ने बताउनुभयो । मल्लकालीन नाचका रूपमा रहेको महाकाली नाचमा महाकाली, महालक्ष्मी, कौमारी, सिंह र म्ह्यखा, महिसासुर दैत्य एक एक, भूत भैरव, कवं, ख्याक र माकः (बाँदर) दुई दुई तथा बेता चार गरी १८ देवगणको सहभागिता हुन्छ ।
नाच प्रदर्शनका कारण यस क्षेत्रमा भूत, प्रेत, पिशाच, चोर, जल, अग्नि, वायु, भूकम्प र चट्याङको भय नहुने जनविश्वास रहेको पनि ज्यापूले जानकारी दिनुभयो । त्यसैगरी, मध्यपुरथिमिको प्रसिद्ध एवम् ऐतिहासिक भैरव नाच पनि गए रातिदेखि सुरु भएको छ । मध्यपुरथिमि नगरपालिका– १० तुलननी र कुमाननीका बासिन्दाको पहलमा लायकु दरबारबाट नाच सुरु भएको जानकारी नाच सञ्चालन एवम् व्यवस्थापन समितिका संयोजक अर्जुन श्रेष्ठले दिनुभयो । दुई दुई भैरव र दाःगि (कुमारी) तथा एक ज्यापु गःचा गरी पाँच देवगण रहने सो नाच गाईजात्राको भोलिपल्टको रातिदेखि सुरु हुने गर्दछ ।
सो नाच चार रातसम्म नचाइने छ । धः बाजाका ३० देखि ३२ तालमा नचाइने सो नाच विभिन्न टोल तथा देवालयमा दुईदेखि तीन तालसम्म मात्र नचाइने चलन छ ।
नृत्यनाथ (नसःद्य) को प्राङ्गणमा भने नचाउन अनिवार्य छ । मन्त्रोच्चारण गरी नाच निकालिसकेपछि समापन नभएसम्म देवता बनेर नाच्ने व्यक्तिले कसैको जुठो खान नहुने र शुद्ध भएर बस्नुपर्ने प्रावधान छ । प्राचीनकालमा मध्यपुरथिमिमा भूत, प्रेत र पिशाचले दुःख दिन थालेकाले त्यसको निराकरण गर्न लाय्कु भैलःका रुपमा भैरव नाचको चलन चलेको तथा पछि जनस्तरबाट भैरव नाच निकाली भूत, प्रेत र पिशाच भगाउने गरिएको जनविश्वास छ ।