भदौ १४, काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीका देशहरुको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनका लागि नेपाल आउनुभएका ६ वटै मुलुकका विशिष्ट पाहुनाहरु राष्ट्रपति विद्यादेवी भण्डारीसँगको संयुक्त भेटवार्ताका लागि राष्ट्रपति भवन शीतल निवास प्रवेश गर्नुभएको छ ।
उहाँहरुलाई राष्ट्रपतिका सल्लाहकार सुशील प्याकुरेल, राष्ट्रपति कार्यालयका सचिव विनोद केसीलगायतले कार्यालयमा स्वागत गर्नुभयो । आजै शुरु हुने शिखर सम्मेलन पूर्व राष्ट्रपति भण्डारीले उहाँहरुको सम्मानमा दिवा भोजको आयोजना गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उच्च पदस्थ अधिकारीहरु सो कार्यक्रममा सहभागी हुनुहुनेछ ।
बिम्स्टेकमा नेपालसहित सात राष्ट्र सदस्य छन् । सम्मेलनमा भाग लिन सदस्य मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुख नेपाल आउनुभएको छ ।