भदौ १४, काठमाडौं । चिनियाँ कम्पनी थ्री गर्जेजले पश्चिम सेती बनाउन अस्वीकार गरेको छ । क्षमता घटाएर पनि पश्चिम सेती आयोजना बनाउन अस्वीकार गरेको हो ।
बुधबार थ्री गर्जेजका प्रतिनिधिसँग भएको वार्तामा लगानी बोर्डले परियोजनाको क्षमता ७५० बाट घटाएर ६२० मेगावाटमा झार्ने र अमेरिकी डलरमा विद्युत खरिद सम्झौता (पीपीए) गर्ने प्रस्ताव गरेको थियो । तर, थ्री गर्जेजले आयोजना अघि बढाउन अस्वीकार गरेको बोर्डका सीईओ महाप्रसाद अधिकारीले जानकारी दिए । उनले परियोजना कार्यान्वयन चरणमा लैजान आवश्यक काम अघि बढाउन आग्रह गरेको आग्रह अस्वीकार गरेको हो । प्राविधिक, पुनर्वास लगायतका धेरै विषयका कारण परियोजना वित्तिय रुपमा सम्भाव्य नरहेको उसले बताएको छ ।
थ्री गर्जेजको सहायक कम्पनी सीडब्लूई इन्भेस्टमेन्ट कर्पोरेसन र लगानी बोर्डबीच २०६८ सालमै ७५० मेगावाटको पश्चिम सेती बनाउने सहमति भएको थियो । १ खर्ब २० अर्ब लागत अनुमान गरिएको परियोजनामा ७५ प्रतिशत थ्री गर्जेज र २५ प्रतिशत विद्युत प्राधिकरणले लगानी गर्ने सहमति थियो । तर, थ्री गर्जेजले विद्युत् खरिद दर बढाउनुपर्ने लगायतका माग राख्दै काम अघि बढाएन । लागत महंगो पर्ने भन्दै थ्री गर्जेजले आयोजना ६०० मेगावाटमा बनाउन प्रस्ताव गर्यो । तर, तत्कालीन उर्जामन्त्री जनार्दन शर्माले त्यसलाई अस्वीकार गर्दै पूरा क्षमतामा बनाउनुपर्ने बताएका थिए । अन्ततः थ्री गर्जेजले आयोजना नै बनाउँन अस्वीकार गरेको हो ।