बिम्स्टेकका सात राष्ट्र शब्दचित्रमा

भदौ १४, काठमाडौं। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) का सदस्य राष्ट्रबीच सामाजिक, धार्मिक रुपमा केही निकटता भए पनि क्षेत्रफल, राजनीतिक व्यबस्था आदिका दृष्टिले निक्कै भिन्नता रहेको छ ।

यस क्षेत्रका सात सदस्यमध्ये धेरै देशले लामो समय सैनिक शासन व्यहोर्नुपरेको तीतो यथार्थ छ । राजनीतिक रुपमा थाइल्यान्ड, म्यानमार, बंगलादेशले लामो समय सैनिक शासन व्यहोरेका छन् । भौगोलिक र जनसंख्याको दृष्टिकोणले भारत अन्य मुलुकको तुलनामा निकै ठूलो मुलुकका रुपमा रहेको छ ।  यस क्षेत्रका देशमा औषत आयु झण्डै समान रहेको छ भने बौद्ध धर्म मान्य देशको बाहुल्यता रहेको छ । बौद्धधर्म मान्य मुलुकमा थाइल्याण्ड, वर्मा, श्रीलङ्का, भूटान रहेका छन् ।

बङ्गलादेश
बंगलादेश विश्वमा धेरै जनसंख्या भएका मुलुकमा आठौं स्थानमा पर्छ । यसको भारत र म्यानमारसँग सीमा जोडिएको छ । बंगलादेश विकासशील तथा शक्तिका दृष्टिले मध्यखाले देशमा पर्छ । आन्तरिक गार्हस्थ उत्पादनका दृष्टिले यो विश्वमा ४३ औँ स्थानमा रहेको छ भने विश्वमा सबैभन्दा ठूलो कपडा निर्यातक मुलुकमा बंगलादेश पर्न आउँछ । सन् २०१६ सम्ममा बंगलादेशको जनसंख्या १६ करोड २० लाख रहेको छ । बंगलादेशमा चरम गरिबी रहेको र यसले हालका वर्षमा जनसंख्या वृद्धिदर नियन्त्रण गर्नुका साथै स्वास्थ्य र शिक्षा क्षेत्रमा केही सुधार गरेको छ । बंगलादेश १५ वर्षसम्म सैनिक शासनमा कायम रहेको र सन् १९९० मा प्रजातन्त्रको स्थापना भएपछि पनि यहाँको राजनीति तरल अबस्थामै रहेको छ
जनसंख्याः करिब १६ करोड २० लाख
क्षेत्रफलः करिब १४ लाख हजार ३९ हजार वर्ग किलोमिटर
मुख्य धर्मः इस्लाम र हिन्दू
औषतआयुः पुरुष ६९ वर्ष र महिला ७० वर्ष

भुटान
दक्षिण एसियाको सानो हिमाली भूपरिवेष्ठित मुलुक भूटानको चीन र भारतसँग सीमा जोडिएको छ । भूटानमा सन् १९७० देखि मात्रै विदेशीहरूका लागि भ्रमण खुला गरिएको हो । भूटानमा बाङ्गचुक शाही परिवारले सन् १९०७ देखि शासन गर्दै आएको र सन् २००८ मा सम्पन्न निर्वाचनपछि भूटान दुई दलीय संसदीय प्रजातान्त्रिक मुलुका रुपमा चिनिदै आएको छ । भूटान इतिहासमा कहिले पनि पराधिन नभएको मुलक भए पनि अहिले भूटानी विदेश तथा सुरक्षा मामिला भने भारतले हेर्ने गरेको छ ।
जनसंख्याः करीब सात लाख ५० हजार
क्षेत्रफलः करिब ३८ हजार ३६४ वर्ग किलोमिटर
राष्ट्रिय भाषाः जोङ्खा
मुख्य धर्मः बौद्ध, हिन्दु
औषत आयुः पुरुष ६६ , महिला ७०

भारत
भारत विश्वकै सबैभन्दा ठूलो प्रजातान्त्रिक मुलुकको रुपमा परिचित रहेको र हाल विश्वको दोस्रो सबैभन्दा धेरै जनसंख्या भएको मुलुकको रुपमा परिचय बनाएको देश हो । भारतले सन् २०२८ सम्म चीनलाई पनि उछिनेर विश्वको सबैभन्दा धेरै जनसंख्या भएको मुलुक हुने अनुमान संयुक्त राष्ट्र संघको रहेको छ । भारत विश्वको आर्थिक तथा आणविक शक्तिका रुपमा विकसित हुँदै गएको र यसले ठूलो सामाजिक, आर्थिक र वातावरणीय समस्या झेलिरहेको छ ।
जनसंख्याः करीब एक अर्ब ३० करोड
क्षेत्रफलः करिब ३१ लाख वर्ग किलोमिटर (कश्मिरबाहेक) रहेको छ
प्रमुख भाषाः हिन्दी
मुख्य धर्महरूः हिन्दू, इस्लाम, क्रिस्चियन, सिख र बौद्ध
सरदर आयु, पुरुषः ६७, महिला ७० वर्ष

म्यानमार
लामो समय सैनिक शासनमा जकडिएको म्यानमारको पश्चिममा भारत र बंगलादेश रहेका छन् भने पूर्वमा थाइल्याण्ड र लाओस रहेका छन्, त्यस्तै उत्तरमा चीन रहेको छ । सन् १९६२ देखि २०११ सम्म म्यामारमा सैनिक शासन रहेको थियो । म्यानमार सन् २०१० पछि क्रमिक रुपमा प्रजातान्त्रिक बाटोमा अघि बढेको र सन् २०१५ मा भएको निर्वाचनपछि आङ साङ सुकीको नेतृत्वको पार्टीले सरकार सञ्चालन गर्दै आएको छ । त्यहाँ एक वर्ष अघि भएको अशान्तिपछि झण्डै पाँच लाख रोहिङ्गा मुसलमान नागरिक छिमेकी बंगलादेशमा शरण लिन पुगेका छन्, यसबाट नयाँ सरकारको छबि अन्तर्राष्ट्रिय स्तरमा केही धमिलिएको छ ।
जनसंख्याः पाँच करोड ३० लाख
क्षेत्रफलः करीब ६७ लाख ६५ हजार वर्ग किलोमिटर
प्रमुख भाषाः बर्मेली
धर्मः बौद्ध
सरदर आयुः पुरुष ६४, महिला ६९ वर्ष

नेपाल
प्राचीन संस्कृति र प्राकृतिक सुन्दरताले भरिएको भूपरिवेष्ठित देश नेपाल इतिहासमा कहिले पनि कसैको उपनिवेश बनेन । विक्रम संवत २००७ पछिमात्र खुला समाजमा रुपान्तरित भएको थियो । विक्रम संवत २०४५÷४६ को जनआन्दोलनपछि नेपालमा संवैधानिक राजतन्त्रात्मक शासन व्यबस्था शुरु भयो भने २०६२÷२०६३को जनआन्दोलनपछि संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना र विक्रम संबत् २०७२ मा नयाँ संविधान जारी भएपछि अहिले तीन तहको निर्वाचन सम्पन्न गरी राजनीतिक स्थायित्वको बाटोमा अग्रसर रहेको छ ।

जनसंख्याः करीब तीन करोड २४ लाख (स्रोतः सीबीएस)
क्षेत्रफलः करीब एक लाख ४७ हजार वर्ग किलोमिटर
प्रमुख भाषाः नेपाली
प्रमुख धर्मः हिन्दू र बौद्ध
सरदर आयुः पुरुष ६८ महिला ७१

श्रीलङ्का
भारतको दक्षिणमा अबस्थित टापु राष्ट्र श्रीलङ्का प्राकृतिक रुपमा निकै सुन्दर देश हो । लामो समयसम्म गृहयुद्धको चपेटामा परेको यो देशले २५ वर्षदेखि चलेको गृहयुद्ध सन् २००९ मा सरकारी सेनाले तामिल टाइगरको नियन्त्रणमा रहेको उत्तरपूर्वी क्षेत्रमा कब्जा जमाएपछि समाप्त भएको थियो । श्रीलङ्का १६ औं शताब्दीपछि पोर्चुगल र डचहरूको लामो समय उपनिवेश बनेको र बेलायतको १५० वर्ष लामो उपनिवेशपछि सन् १९४८ मा स्वतन्त्र भएको थियो ।
जनसंख्याः करीब दुई करोड १२ लाख (स्रोतः सीबीएस)
क्षेत्रफलः करीब ६५ हजार ६१० वर्गकिलोमिटर
प्रमुख भाषाः सिनहाल, तमिल र अंग्रेजी
प्रमुख धर्मः बौद्ध, हिन्दू, क्रिश्चियन, अग्रेजी
सरदर आयुः पुरुष ७२ महिला ७८

थाइल्याण्ड
दक्षिण पूर्वी एसियामा कहिल्यै कसैको उपनिवेश नबनेको एक मात्र मुलुक थाइल्याण्ड बौद्ध धर्मावलम्बीहरूको बाहुल्य भएको राजतन्त्रात्मक मुलुक हो । यहाँ राजतन्त्र समर्थक सैनिक शासन व्यबस्था लामो समय कायम रह्यो । सन् १९४७ देखि धेरै समय सैनिक शासन भएको थाइल्याडमा सन् २००१ पछि थाक्सिन सिनावत्रा समर्थक र विरोधीबीच सन् २००६ मा सैनिकले शासन नलिएसम्म विवाद कायम रहयो । त्यसपछि सन् २०११ मा भएको निर्वाचन पछि थाक्सिनकी बहिनी यानलुक सिनावात्रा प्रधानमन्त्री हुनु भए पनि सन् २०१४ मा पुनः सैनिक विद्रोहबाट सत्ता गुमाउनु भएको थियो ।

जनसंख्याः छ करोड ९० लाख
क्षेत्रफलः करीब पाँच लाख १३ हजार वर्ग किलोमिटर
प्रमुख भाषाः थाई
धर्मः बौद्ध
सरदर आयुः पुरुष ७१ महिला ७९
स्रोतः एजेन्सी (तथ्याङ्कहरू सन् २०१७)

Satkar Media House
Leave A Reply

Your email address will not be published.