तरुल र चाकुको व्यापार फस्टायो

पुस २८, काठमाडौं । माघे संक्रान्ति पर्व नजिकिएसँगै बजारमा तरुल र चाकुको व्यापार फस्टाएको छ ।

कालीमाटी तरकारी तथा फलफूल बजारमा माघे संक्रान्ति पर्वका लागि तरुल किन्न जानेहरुको भीड यतिबेला देख्न सकिन्छ । तरुलको मूल्यमा विगतका वर्षहरुको भन्दा फरक नरहेको व्यापारीहरु बताउँछन् । कालीमाटी बजारमा धादिङ, नुवाकोट, मकवानपुर, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप लगायतका जिल्लाहरुबाट तरुल आइरहेको व्यापारीहरुको भनाइ छ । कालीमाटीमा तरकारी व्यापार गर्दै आएका कृष्णप्रसाद पोखरेलले तरुल माघे संक्रान्तिमा मात्रै पाउने सिजन भएकाले पनि संक्रान्तिको अघिल्लो दिनको व्यापार हेरेर मात्रै नाफा घाटाको बारेमा भन्न सकिने बताए ।

“माघे संक्रान्तिको बेलामा मात्रै हुने भएकाले यो नाफा घाटाको कुरा कत्तिको किन्न आउनुहुन्छ भन्ने हेरेर थाहा हुन्छ” उनले भने, “अहिले कालीमाटी बजारमा सर्लाही, धादिङ, मकवानपुर, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट लगायतका जिल्लाहरुबाट तरुल धेरै आइरहेको छ ।” त्यस्तै, कालीमाटी तरकारी तथा फलफूल बजारमा नै काँक्रोको व्यापार गर्दै आएकी अप्सरा सिलवाल भने अरुबेला काँक्रो मात्रै व्यापार गर्ने भएपनि यस पटक भने सिजन रहेकाले तरुल मगाएर व्यापार गरेको बताइन् । उनले माघे संक्रान्तिका लागि आफूले नवलपरासीबाट दुई गाडी तरुल ल्याएको सुनाईन् ।

माघे संक्रान्ति नजिकिएसँगै तरुल मात्रै होइन, बजारमा चाकुको पनि उत्पादन र व्यापार बढेको छ । जाडोमा गर्मी बढाउने अर्थात शरीरलाई तातो बनाउनका लागि पनि यतिबेला बजारमा चाकुको व्यापार बढ्ने गर्छ । चाकु पनि गत वर्षको मूल्यमा नै बिक्री भइरहेको व्यापारीहरु बताउँछन् । माघे संक्रान्तिको अवसरमा नेपाली समाजमा तरुल, चाकु, तिलौरा लगायत खाएर हर्षोल्लाससहित माघे संक्रान्ति पर्व मनाउने गरिन्छ ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.