अख्तियारद्वारा २५ जनाविरुद्ध मुद्दा दायर

पुस २७, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्न रहेको आरोपमा २५ जनाविरुद्ध मङ्गलबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।

सल्यानको कालीमाटी गाउँपालिकामा आर्थिक वर्ष २०७७÷ ७८ मा सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सडक विस्तार तथा नाला व्यवस्थापन गर्ने क्रममा आर्थिक अनियमितता गरेको आरोपमा १० जनाविरुद्ध मुद्दा दायर गरिएको छ । मुद्दा दायर गरिएकामा गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत हरिबहादुर खत्री, इन्जिनियर टेकबहादुर केसी, योजना शाखा प्रमुख जयराम घर्ती, गाउँपालिकाका तत्कालीन उपाध्यक्ष तथा योजना अनुगमन तथा मूल्याङ्कन समितिका संयोजक सनसिल्ता डिसी, रोजगार संयोजक सुवास बुढाथोकी, वडा नं. ७ का अध्यक्ष नैनसिंह राना, सब–इन्जियिनर दिपेशबहादुर शाही रहेको आयोगले जनाएको छ ।

सडक विस्तार नाला सुधार तथा ग्राबेल योजना रोजगार उपभोक्ता समितिका अध्यक्ष गणेश बुढा, सचिव कृष्ण कार्की र कोषाध्यक्ष गीताकुमारी बोहराविरुद्ध पनि मुद्दा दायर गरिएको आयोगले जनाएको छ । आरोपित सबैलाई पाँच लाख ६५ हजार ३०९ रुपियाँ बिगोबमोजिम कारबाहीको माग गरिएको छ । त्यस्तै महोत्तरीको बलवा नगरपालिकामा आर्थिक वर्ष २०७४÷ ७५ मा विभिन्न सडक ढलानको क्रममा अनियमितता गरेको आरोपमा आयोगले मङ्गलबार नै सात जनाविरुद्ध मुद्दा दायर गरेको छ । मुद्दा दायर गरिएकामा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत स्वर्गीय बालवीर ठाकुर, तत्कालीन सब–इन्जिनियर हीरालाल मण्डल र जितकुमार यादव, सडक निर्माण अनुगमन समितिका अध्यक्ष रामसागर कपडी सुडी, सडकको बीचमा पर्ने भवन भत्काएर अर्को भवन निर्माणका लागि गठन गरिएको उपभोक्ता समितिका अध्यक्ष, कोषाध्यक्ष र सचिव क्रमशः राजी साहु सुडी, अशोककुमार पन्जियार र नजबुल खातुन रहेको विज्ञप्तिमा उल्लेख छ । सातै जनालाई जनही एक लाख आठ हजार ९५३ रुपियाँ बिगोबमोजिम कारबाहीको माग गरिएको छ ।

त्यस्तै धनुषाको सबैला नगरपालिका वडा नं। ५ मा पनि आर्थिक वर्ष २०७७÷ ७८ मा सडक निर्माणकै क्रममा काम नगरी नक्कली बिल र भर्पाई बनाएर रकम निकासा गरेर आर्थिक अनियमितता गर्ने काममा संलग्न भएको आरोपमा आयोगले पाँच जनाविरुद्ध मुद्दा दायर गरेको छ । मुद्दा दायर गरिएकामा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत स्वर्गीय बालवीर ठाकुर, नगरपालिकाका तत्कालीन इन्जिनियर रञ्जितकुमार यादव, सब–इन्जिनियर रञ्जित कुमर, वडा नं. ५ का तत्कालीन अध्यक्ष देवेन्द्रप्रसाद यादव, राहुल निर्माण सेवाका तत्कालीन सञ्चालक पुरुषोत्तमदास यादव रहेको जनाइएको छ । पाँचै जनालाई जनही एक लाख तीन हजार १९० रुपियाँ बिगोबमोजिम कारबाहीको माग गरिएको छ ।

शिक्षा विकास तथा समन्वय एकाइ सुनसरीका तत्कालीन कार्यालय प्रमुख उपसचिव रमेशबहादुर दाहालसहित तीन जनाविरुद्ध पनि आर्थिक अनियमितता गरेको आरोपमा आयोगले मङ्गलबार नै विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । जिल्लाको बर्जु गाउँपालिका वडा नं. ६ स्थित श्री माध्यमिक विद्यालयमा छात्रा शौचालय निर्माणको क्रममा आर्थिक अनियमितता गरेको आरोपमा दाहालसहित एकाइका इन्जिनियर निरजकुमार झा तथा विद्यालयका प्रधानाध्यापक रामविलास यादवविरुद्ध पनि मुद्दा दायर गरिएको छ । तीनै जनालाई एक लाख ८६ हजार ७६५ रुपियाँ बिगोबमोजिम कारबाहीको माग गरिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.