राष्ट्रियसभा तीन समितिको सभापति निर्विरोध निर्वाचित

भदौ १३, काठमाडौं । राष्ट्रियसभा मातहतका चारमध्ये तीन विषयत समितिका सभापति निर्विरोध निर्वाचित भएका छन ।

राष्ट्रियसभा मातहतको विधायन व्यवस्थापन समितिको सभापतिमा परशुराम मेघी गुरुङ, राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापतिमा दिलकुमारी रावल थापा र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिमा रामनारायण बिडारी निर्विरोध निर्वाचित भएका छन् ।

बुधबार बसेको समितिको आ–आफ्नै बैठकले गुरुङ, थापा र बिडारीलाई सभापतिमा निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो । नवनिर्वाचित समितिका सभापतिहरुले संविधान र राष्ट्रियसभा नियमावली भित्र रहेर आ–आफ्नो कार्य क्षेत्रको कामलाई तीव्रता दिने प्रतिवद्धता व्यक्त गरेका छन । विधायन व्यवस्थापन समितिका सभापति गुरुङले ऐन, कानुनको निर्माणलाई तीव्रता दिने प्रतिवद्धता व्यक्त गरे । उनले आफ्नो कार्यक्षेत्र भित्रको कामलाई तीव्रता दिएर सरकारलाई आवश्यक निर्देशन दिने बताए ।

त्यसैगरी राष्ट्रिय सरोकार तथा समन्वय समितिकी नवनिर्वाचित सभापति दिलकुमारी रावल थापाले राष्ट्रिय सरोकारका विषयहरुमा सरकारलाई आवश्यक सल्लाह, सुझाव र निर्देशन दिने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले राष्ट्रिय गौरवको आयोजना निर्माणको कामलाई गति दिने गरी ऐन, कानुन निर्माणको कामलाई जोड दिने योजना पनि सार्वजनिक गरे ।

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका नवनिर्वाचित सभापति रामनारायण बिडारीले संविधानमा नबाझिने गरी कानुनको व्यवस्था गर्ने कामलाई तीव्रता दिने प्रतिवद्धता व्यक्त गरे ।

यसैबीच, नवनिर्वाचित समितिका सभापतिहरु गुरुङ, थापा र बिडारीलाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् । राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहालसहितको उपस्थितिमा तीनै जना राष्ट्रियसभाका विषयगत समितिका सभापतिहरु गुरुङ, थापा र बिडारीलाई अध्यक्ष तिमिल्सिनाले पद तथा गोपनियताको सपथ खुवाएका हुन् ।

सभापतिमा निर्विरोध निर्वाचित गुरुङ, थापा र बिडारी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद हुन् । राष्ट्रियसभा दिगो विकास तथा सुशासन समितिको सभापतिमा भने उम्मेदवारी परेको थिएन् ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.