व्यवस्थापन र कर्मचारीका कारण मध्य भोटेकोशीको काम सुस्त, स्थानीय आक्रोशित

भदौ ११, काठमाडौं । आयोजना र कर्मचारीको लापरबाहीका कारण सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाट क्षमताकोे मध्यभोटेकोशी जलविद्युत आयोजनाको काम अतिसुस्त गतिमा भइरहेको छ ।

ठेकेदार कम्पनीसित आयोजनाका कर्मचारीले रकम मागेको तर नदिएका कारण पावर हाउस ईन्टेकलगायत महत्वपूर्ण संरचनाको डिजाइन पास समेत नभएको बुझिएको छ । ठेकेदार कम्पनी र आयोजनाका कर्मचारीबीच कुरा नमिलेका कारण निर्माण सुरु भएको छ वर्ष विते पनि डिजाईन समेत पास नभएको बताइएको छ ।

आयोजनाको काम द्रुत गतिमा अघि बढाउन यसअघि स्थानीय राजनीतिक दलका प्रतिनिधिलाई राखेर आयोजना सरोकार समिति बनाइएको थियो । कामलाई सहज ढंगमा अघि बढाउन सरोकार समिति सञ्चालन कार्यविधि पनि बनाइएको थियो । तर अहिले सरोकार समितिको बैठक नै बस्न सकेको छैन । बाह्रविसे नगरपालिकाले पटक पटक बैठक आह्वान गर्न आग्रह गरे पनि आयोजनाले बेवास्ता गरिरहेको छ ।

आफूलाई व्यक्तिगत फाइदा हुने भएकाले आयोजनाको उच्च तहमा बस्ने कर्मचारीहरु मणिराम काफ्ले(सीओ), टोमलाल सुबेदी(कम्पनी सचिव) र विजयलाल श्रेष्ठ (डिजाईन चिफ)को योजनामा आयोजनाको काममा ढिलाई भएको स्थानीयको आरोप छ । नेपाल विद्युत प्राधिकरणका समेत कर्मचारी रहेका उनीहरुले दोहोरो तलब सुविधा लीरहेको बताइएको छ ।

आयोजनाको काममा ढिलाई मात्रै भएको छैन, आयोजनाले स्थानीयस्तरमा गर्ने भनेको विकास निर्माण पनि कुनै काम भएको छैन । आयोजना निर्माणका लागि भन्दै भत्काइएको स्थानीय कृषि भवन र स्वास्थ्य चौकी तीन वर्ष वित्दा समेत नबनेको भन्दै स्थानीय आक्रोशित भएका छन ।
स्थानीयसँग सामुदायिक उत्तरदायित्व अन्तरगत शिक्षाको लागि बजेट छुट्याउने सहमति भए पनि तीन वर्षयता बजेट निकासा भएको छैन । योलगायत स्थानीयसँग भएका कुनै पनि सहमति आयोजनाले कार्यान्यन नगरेको आरोप लाग्दै आएको छ ।

त्यस्तै आयोजनाका कारण स्थानीय वन मासिएको, भूक्षयलगायत प्राकृतिक प्रकोप बढेको तर त्यसको रोकथाम तथा न्यूनीकरण गर्न कुनै पहल नभएको भन्दै स्थानीयले गुनासो गरेका छन । आयोजनाले मनलाग्दी गरेको भन्दै केही दिनअघि स्थानीयले आयोजनाको साइट कार्यालयमा तालाबन्दी गरेका थिए ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.