मङ्सिर २५, काठमाडौँ । आइतबार बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ह्वात्तै घटेर ६ डिग्री सेल्सियसमा झर्यो ।
यो साता ११ डिग्रीमा रहेको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियसले घट्दा अत्यधिक चिसो बढेको छ । आइतबार बिहान जुम्लाको तापक्रम माइनस ४।५ डिग्री सेल्सियस रहेकोसँगै काठमाडौँ उपत्यका सहित सहित देशभर चिसो बढेको छ । दिउँसो घाम लागे पनि बिहान र बेलुकाको समयमा अत्यधिक चिसो महसुस हुने गरेको छ । मौसम पूर्वानुमान महाशाखाका तथ्याङकनुसार तापक्रम घट्दै जाने भएकाले थप चिसो बढ्ने जनाएको छ ।
महाशाखाका अनुसार देशका तराई, पहाड र हिमाली क्षेत्रमा हुस्सु र कुहिरो लाग्न थालेको छ । यो सँगै चिसो पनि बढ्दै जाने भएकाले चिसोबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । महाशाखाका अनुसार देशभरको मौसम सामान्यतया सफा छ । आइतबार र सोमबार देशभरको मौसम सफा रहने छ । मङ्गलवार भने प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

