मङ्सिर २३, काठमाडौं । ललितपुरको ग्वार्को चोकमा फ्लाई ओभर विथ एप्रोच रोड निर्माण सुरु भएकाले उक्त क्षेत्रको सवारी आवगमन आजबाट प्रभावित भएको छ । आजबाट फ्लाई ओभर निर्माण सम्पन्न नभएसम्मका लागि उक्त क्षेत्रको सवारी आवगमन प्रभावित हुने भएको छ ।
“आज बिहान ६ बजेदेखी निर्माण कार्य सम्पन्न नभएसम्म कोटेश्वरबाट सातदोबाटोतर्फ जाने यात्रुबाहक, मालवाहक तथा दुई पांग्रे सवारी साधनहरुलाई बालकुमारी पुलबाट बल्खूसम्म सर्भिस लेनमा र निजी चार पांग्रे सवरी साधनलाई फास्ट ट्रयाकबाट सञ्चालन गराएको छ,” ट्राफिक प्रहरी कार्यालय रामशाहपथले भनेको छ, “बल्खुबाट सातदोबाटो हुँदै कोटेश्वरतर्फ जाने यात्रुबाहक, मालबाहक तथा दुई पांग्रे सवारी साधनलाई बल्खुबाट बालकुमारी पुलसम्म सर्भिस लेनमा र निजी चार पांग्रे सवारी साधनलाई फास्ट ट्रयाकबाट सञ्चालन गराइएको छ ।”
सवारी साधनका चालकलाई तोकिएको सडकबाट यात्रा गर्न ट्राफिक कन्ट्रोल रूमले आग्रह गरेको छ ।

