मङ्सिर २२, काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले भोलिदेखि मेलम्चीको पानी धारा–धारामा पठाउने भएको छ ।
बाढीका कारण वर्षायाममा ६ महिना बन्द भएको पानी पुनः उपत्यकाबासीलाई वितरण गर्न लागिएको हो । केयूकेएलका प्रवक्ता प्रकाश कुमार राईले चाबहिलस्थित महाँकालचौरको पानी ट्यांकीबाट पानी वितरण सुरु गरिने जानकारी दिए । उनका अनुसार भोलि बिहान साढे ८ बजेदेखि नै पानी धारा धारामा पठाइनेछ । “अहिले ट्यांकीमा पानी आइरहेको छ । भोलि बिहानदेखि वितरण थाल्छौँ । अबको दुई चारदिनमै १७ करोड लिटर पानी उपत्यकामा वितरण हुन्छ,” प्रवक्ता राईले भने ।
केयूकेएलका अनुसार उपत्यकामा दैनिक करिब ४३ करोड लिटर पानीको माग छ । मेलम्चीको पानीले करिब ४० प्रतिशत पानी आपूर्ति गर्छ ।

