कञ्चनपुरमा हिंसात्मक बन्दैः प्रहरीको गोली लागेर १ जनाको मृत्यु ३घाइते

भदौ ८, कञ्चनपुर । कञ्चनपुरमा फेरि गोली चलेको छ । १३ वर्षीया बालिका निर्मला पन्तका बलात्कारी र हत्यारालाई कारवाहीको माग गर्दै कञ्चनपुरमा भइरहेको आन्दोलनमा प्रहरीले शुक्रवार फेरि गोली चलाएको हो ।

प्रहरीको गोली लागेर १७ वर्षीय चेतन भट्टको ज्यान गएको छ । आफ्नै होटलमा बसिरहेका भट्टमाथि प्रहरीले चलाएको गोली लागेको प्रत्यक्षदर्शीले बताएका छन् । उनको छातिमै गोली लागेको छ । त्यस्तै प्रहरीको गोली प्रहारबाट अन्य ३ जना गम्भीर घाइते भएका छन् । सरकारले उच्च स्तरीय छानबिन टोली गठन गर्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख परिवर्तन गरेपछि शुक्रवार बिहान साम्य भएको आन्दोलन दिउँसोबाट शुरू भएको थियो । प्रदर्शनकारी जिल्ला प्रशासन कार्यालयतिर आउन खोजेपछि प्रहरीले बल प्रयोग गर्दा फेरि झडप शुरू भएको थियो ।

दिउँसो ३ बजेतिरबाट प्रदर्शनकारीले आन्दोलन शुरू गरेको र अहिले भीड बढ्दै गइरहेको छ । शुक्रवार बिहान वर्षा भएका कारण पनि आन्दोलन हुन सकेको थिएन । वर्षा रोकिएपछि सर्वसाधारण सदरमुकाम केन्द्रीत भएका छन् ।

कञ्चनपुरका बेलौरी, बेल्डाडी र पुनर्वास क्षेत्रमा भने शुक्रवार बिहान प्रदर्शन भएको थियो । प्रहरीले मानसिक सन्तुलन ठिक नभएका व्यक्तिलाई अभियुक्त देखाउँदै सार्वजनिक गरेपछि सर्वसाधारण आक्रोशित बनेका थिए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता भीम रावलले कञ्चनपुरमा घटनामा कांग्रेसले राजनीति गर्न खोजेको आरोप लगाएका थिए । रावलको उक्त भनाईप्रति आपत्ति जनाउँदै कांग्रेस कार्यकर्ताहरु पनि आन्दोलनमा उत्रिएका थिए । जिल्लाको सुरक्षा र प्रशासन प्रमुख परिवर्नतन भएसँगै अब कसरी अगाडि बढ्ने भन्दै छलफल भईरहेको बेला प्रहरीले गोली चलाएको हो ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.