काठमाडौं । जाडो महिना सुरु भएसँगै चिसो क्रमशः बढ्दो क्रममा छ । काठमाडौं उपत्यकामा आज बिहान यो वर्षकै कम तापक्रम मापन गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाले बिहीबार बिहान काठमाडौंको न्यूनतम तापक्रम ७.३ डिग्री सेल्सियस मापन गरिएको जनाएको छ । यो तापक्रम यो वर्ष आजसम्मकै सबैभन्दा कम हो । “काठमाडौंमा आज बिहानको तापक्रम ७.३ डिग्री सेल्सियस थियो,” महाशाखाका मौसमविद् हिरा भट्टराईले बाह्रखरीसित भने, “यो यस वर्ष आजसम्मको कम हो ।” महाशाखाको पछिल्लो विवरणानुसार काठमाडौं उपत्यकाको अधिकतम तापक्रम २१.५ डिग्री सेल्सियस छ । महाशाखाले हरेक दिन बिहान न्यूनतम र बेलुका अधिकतम तापक्रमको विवरण सार्वजनिक गर्ने गर्छ । महाशाखाको विवरणानुसार आज जुम्लाको तापक्रम सबैभन्दा कम –३.७ डिग्री सेल्सियस छ ।
यस्तै, ताप्लेजुङको न्यूनतम तापक्रम ६.२, डडेलधुराको ६.९ डिग्री सेल्सियस छ । तराई भू–भागमा हुस्सु÷ कुहिरो लाग्ने तथा देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

