मङ्सिर १४, सिन्धुपाल्चोक । करिब ३ बर्ष पछि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दालहाल प्रचण्ड र सभामुख अग्निप्रसाद सापकोटासँगै सुकुटे आइपुगेका छन् ।
सभामुख बन्नु अघि प्रचण्ड र सापकोटासँगै सुकुेटे पुग्ने गरेपनि करिब तीन बर्षसम्म दुबै जना सँगै सुकेटे आएका थिएनन् । २०७६ फागुनको तेस्रो साता भएको सुकेटे महोत्सबको उद्घाटन प्रचण्डले गरेका थिए भने समापन त्यतिबेला भर्खरै सभामुख सम्हालेका सापकोटाले गरेका थिए । त्यस यता पनि प्रचण्ड र सापकोटा पटक पटक एक्ला एक्लै सुकुटे आए ।
पार्टीको दस्तावेज लेखन र महत्वपूर्ण राजनीतिक निर्णय लिनु अघि माओवादी अध्यक्ष प्रचण्ड सुकुटे पुग्ने गर्छन । प्रतिनिधि र प्रदेश सभा निर्वाचनको अन्तिम परिणाम आउँदै गर्दा पार्टीमा नजिकका विश्वासपात्र सभामुख सापकोटासँगै प्रचण्ड सुकुटे आएका हुन् ।
सुकुटेमा बसोबासको चाँजोपाजो माओवादी जिल्ला इन्चार्ज समेत रहेका हाल सिन्धुपाल्चोक १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित पार्टीका पोलिटव्युरो सदस्य माधव सापकोटा सुबोधले मिलाउँदै आएका छन् । सुकुटेमा अध्यक्ष प्रचण्ड र सभामुख सापकोटालाई सिन्धुपाल्चोक १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित माधव सापकोटा सुबोध र बागमती प्रदेसभा सदस्य निर्वाचित सरल सहयात्री पौडेलले, केन्द्रीय सदस्य अमृता नेपाल प्रभा लगायतले स्वागत गरे । सुकुटे पुगे लगत्तै अध्यक्ष प्रचण्डले र्याफ्टिंसमेत गरेका छन् । निकट स्रोतका अनुसार प्रचण्ड, सभामुख सापकोटा लगायत आज सुकुटेस्थित सुकुटे बीचमा बस्नेछन् ।
माओवादी अध्यक्ष प्रचण्डले रुचिका साथ पटक पटक सुकुटे आएकै कारण पनि सिन्धुपाल्चोकको अरनिको लोकमार्गमा पर्ने सुकुटे क्षेत्र ठूलो पर्यटकीय गन्तव्य बन्न पुगको छ । ठूला साना गरी तीन दर्जन हाराहारी होटल र रिसोर्टले सुकुटेमा पर्यटकलाई सेवा दिँदै आएका छन् ।
काठमाडौंबाट करिब २ घण्टामा पुगिने सुकुटे क्षेत्र बीचको मज्जा लिन र जलयात्राका लागि निकै चर्चीत छ । सुकुटे बसाई आन्तरिक तथा बाह्य पर्यटकका लागि तुलनात्मक रुपमा सस्तो समेत रहेको छ ।

