भदौ ८, काठमाडौँ । इन्डोनेसियमा जारी १८औँ एशियाली खेलकूद अन्तर्गत ब्याडमिन्टनको महिला सिङ्गल्समा नेपालकी नङ्शल तामाङ बिहीबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेकी छन ।
जिबीके इस्तोरामा भएको खेलमा नङशलले माल्दिभ्सकी खेलाडीलाई २१–१९ र २१–१५ को सोझो सेटमा पराजित गरिन । महिला सिङ्गल्सको अर्को खेलमा जेशिका गुरुङ थाइल्यान्डकी खेलाडीसँग २१–७ र २१–५ ले पछि परिन ।पुरुष डबल्समा पनि नेपालका विकास श्रेष्ठ र नवीन श्रेष्ठको जोडीले मङ्गोलियाका खेलाडीलाई २१–१२ र २१–७ को सीधा सेटमा हराउँदै प्रिक्वाटरफाइनलमा पुगे । सोही स्पर्धाको अर्को खेलमा भने पाकिस्तानी जोडीले नेपालका दिपेश धामी र रत्नजित तामाङको जोडीलाई २१–१९ र २२–२० को सोझो सेटमा पन्छाए ।
मिक्स डबल्समा इन्डोनेसियाका खेलाडीले रत्नजित र नङशलको जोडीलाई २१–१३ र २१–२१–७ तथा हङकङ्ले दिपेश धामी र जेशिका गुरुङको जोडीलाई २१–११ र २१–११ को सोझो सेटमा पाखा लगाए ।
महिला डबल्समा थाइल्यान्डका खेलाडीले जेशिका गुरुङ र नङशलको जोडीलाई २१–७ र २१–५ ले निराश पारे । ब्याडमिन्टनमा नेपालले अाज शुक्रबार पाँच खेलमा प्रतिस्पर्धा गर्ने राष्ट्रिय खेलकूद परिषद (राखेप)ले जनाएको छ ।