गठबन्धनविरुद्ध बोल्न र फेसबुकमा लेख्न दलका कार्यकर्तालाई छुट छैन– तीर्थ लामा

कात्तिक २९, काभ्रे । नेपाली कांग्रेस काभ्रेका सभापति एवं प्रदेश सभा १ (ख) का उम्मेदवार तीर्थ लामाले लोकतान्त्रिक–वाम गठबन्धनको पक्षमा उभिन गठबन्धन दलका नेता कार्यकर्ता सबैलाई निर्देशन दिएका छन् ।

गठबन्धनले चौरीदेउरालीको कात्तिकेदेउरालीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले विगतका तीता–मीठा अनुभवलाई बिर्सेर नयाँ एकताका साथ अघि बढ्न सबैमा आग्रह गरे । ‘यो सविधान च्यात्ने र संविधान जोगाउनेबीचको प्रतिस्पर्धा हो, प्रतिगामी र अग्रगामी राजनीतिक शक्तिबीचको प्रतिस्पर्धा हो । गठबन्धनप्रति प्रतिबद्ध भएर यो क्षेत्रमा माओवादी केन्द्रका उम्मेदवार सूर्यमान दोङ र रत्न ढकाल र समानुपातिकमा आफ्नो पार्टीलाई मतदान गर्न अनुरोध गर्दछु,’ उनले भने, ‘गठबन्धन विरुद्ध बोल्न, लेख्न कुनै पनि दलका कार्यकर्तालाई छुट छैन । विपक्षीसँग साँठगाँठ गर्ने, छलफल गर्ने, कुनै पनि दलका कार्यकर्ताको उचित मूल्यांकन हुन्छ, सामाजिक सञ्जालमा लेख्दा ध्यान दिनुहोला, पार्टी अनुशासन पालना नगर्नेलाई कारबाही हुन्छ ।’

संविधानको रक्षा, विकास, समृद्धिको लागि गठबन्धन भएको भन्दै उनले निर्वाचित भएपछि काभ्रे जिल्लाको नाम बदनाम नगर्ने प्रतिवद्धता जनाए । सबै वर्ग, क्षेत्रलाई समेटेको संविधानको मर्ममाथि एमालेले प्रहार गरेको भन्दै त्यसको रक्षाको लागि लोकतान्त्रिक–वाम गठबन्धन भएको बताए । कार्यक्रममा गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी लगायतका दलको जिल्ला, स्थानीय तह र वडा तहका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.