नेकपाका दुई प्रदेशमा नेतृत्वको विवाद, अझै बुझाएनन् प्रतिवेदन

भदौ ७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) तल्लो तहको एकता प्रक्रिया लम्बिएको छ । नेतृत्व विवादका कारण प्रदेश र जिल्ला कमिटी एकीकरण लम्बिएको हो ।

तल्लो तहको एकताका लागि बनाइएका कार्यदलले साउन मसान्तसम्म प्रतिवेदन बुझाइसक्नु पर्नेमा प्रदेश १ र २ ले प्रतिवेदन बुझाएका छैनन् । विवाद मिलाएर प्रतिवेदन बुझाउन नेकपाले बिहिबारसम्मको समय दिएको छ । यी दुई प्रदेशमा नेतृत्वको विवाद देखिएको बताइएको छ । पाँच प्रदेशका कार्यदलले भने प्रतिवेदन बुझाएका छन् । प्रदेश ३, गण्डकी र ७ नम्बर प्रदेशले सर्वसम्मत रूपमा प्रतिवेदन तयार पारेर केन्द्रमा बुझाएका हुन् ।

पाँच नम्बर प्रदेशको प्रतिवेदन भने विवाद मुक्त छैन । प्रतिवदेन बुझाइएका प्रदेशमा नेतृत्वको विवाद भने यथावत् रहेको बताइएको छ । प्रदेश नम्बर १ र २ ले प्रतिवेदन नबुझाउँदा स्थायी समितिको बैठकसमेत सरेको छ । महासचिव विष्णु पौडेलका अनुसार ८ र ९ गतेका लागि बोलाइएको स्थायी समिति बैठक भदौ १९ र २० गतेका लागि सरेको छ । बिमस्टेक सम्मेलनको कारण पनि प्रदेश तथा जिल्ला कमिटी एकता लम्बिएको बताइएको छ । सम्मेलन भदौ १४ र १५ गते दुई दिनसम्म चल्नेछ । नेकपाले बिहीबारसम्म विवाद मिले वा नमिलेको जस्तो अवस्था भए पनि प्रतिवेदन तयार पारेर केन्द्रमा पठाउन कार्यदललाई निर्देशन दिएको छ ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.