भदौ ७, काठमाडौं । ओछ्यानमा ढल्किएर फेसबुक चलाइरहेका एक सरकारी अधिकृतमाथि छुरा प्रहार भएको छ ।
जिल्ला समन्वय समिति रामेछापका कार्यक्रम अधिकृत नारायण सुवेदीमाथि छुरा प्रहार भएको हो । मन्थली नगरपालिका १ मच्छेडाँडीमा रहेको सुवेदीको निवासमा राति ९ बजे छुरा हानिएको हो । त्यति बेला अरु परिवारका सदस्यहरु अरु कोठामा काम गर्दै थिए । उनलाई स्थानीय तामाकोशी सहकारी अस्पतालमा प्राथमिक उपचारपछि धुलिखेल अस्पताल पठाइएको थियो । धुलिखेल अस्पतालमा राति नै उनको शल्यक्रिया भएको छ । सुवेदीको आन्द्रा काटिएको अस्पतालले जनाएको छ ।
मास्क लगाएर आएको व्यक्ति छुरा प्रहार गरि बरण्डाबाट हाम फालेर भागेको प्रहरीले जनाएको छ ।