सिन्धुपाल्चोकको प्रसिद्ध ऐतिहासिक धार्मिकस्थल गौराती भीमेश्वरको मेला सुरु

कात्तिक २२, चौतारा । सिन्धुपाल्चोकको प्रसिद्ध ऐतिहासिक धार्मिकस्थल गौरतीभीमेश्वर मन्दिरको मेला सुरु भएको छ । चौतारा सँगाचोकगढी नगरपालिकामा रहेको गौरतीभीमेश्वर मन्दिरमा दुई दिन सम्म मेला लाग्ने गर्दछ ।

सिन्धुपाल्चोक जिल्लाकै ठूलो मानिने गौरतीभीमेश्वरको मेलामा देशका विभिन्न जिल्लाबाट ठूलो सङ्ख्यामा भक्तजनहरु आउने गरेका छन् । पौराणिककालमा जङ्गल रहेको सो डाँडामा गोठालाहरुले खर्क राखी गाई चराउने गर्दथे । गाईले राति–राति एउटा ढिस्कोमा दूध चढाउने गरेको गोठालाहरुले पत्ता लगाएपछि भोलिपल्ट खनेर हेर्दा रगत देखा पर्नाका साथै दिव्यमूर्ति प्रकट भई दैनिक पूजा गरे भलो हुने बताउँदै अन्र्तध्यान भएकाले सोही समयदेखि पूजाआजा गर्ने गरेको मान्यता रहेको छ ।

‘गौ’ अर्थात् गाईले राति दूध चढाएका कारण गौरती र भूमि खनेर उत्पत्ति भएकाले भूमेश्वर हुँदै कालान्तरमा भीमेश्वर हुन गएको मान्यता छ । मेलामा सदरमुकाम चौताराबाट भीमसेनको मूर्तिलाई रथमा तानेर पूर्णिमाको रात गौरती मन्दिरमा रहेको मूर्तिसँग मिलन गराएपछि एकादशीको दिन पुनः फर्काइन्छ । गुठियारको घरघरमा समेत पूजा गर्ने चलन छ । सिन्दूरे जात्रासहित द्वादशीको दिन मेला सम्पन्न गरिने परम्परा रहेको स्थानीय अमिर श्रेष्ठले बताए । धार्मिक आस्था राख्नेहरुले यहाँको मन्दिरलाई दोलखा भीमसेन जत्तिकै शक्तिशाली मान्दछन् र मनले चिताएको कुरा पूरा हुने विश्वास गरिन्छ ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.