कात्तिक २२, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सांस्कृतिक वैभवलाई आर्थिक उपार्जनसँग जोडेर समृद्ध नेपाल बनाउन सकिने बताउनुभएको छ ।
वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट ललिततुर क्षेत्र नं ३ को साझा उम्मेदवार रहनुभएकी मन्त्री भुसालले यहाँको मूर्त तथा अमूर्त कला संस्कृतिको संरक्षणमा उल्लेख्य भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ललितपुर महानगरपालिका वडा नं २० र १० भित्र आयोजित घरदैलो कार्यक्रममा उहाँले सांस्कृतिक नगरीका रुपमा रहेको ललितपुरमा पर्यटकीय सम्भावना उच्च रहेको र यसको अधिकतम सुदपयोग गर्नुपर्ने बताउनुभयो ।
ललितपुरवासीको समृद्धिको आकाङ्क्षा पूरा गर्ने अभिभावकीय जिम्मेवारी निर्वाह गर्ने उद्देश्यले आफू फेरि निर्वाचनमा आएको जनाउँदै उहाँले नगरवासीको चाहना पूरा गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । काठमाडौँ उपत्यकामा रहेको शुद्ध पिउने पानीको समस्या समाधान गर्न आफूले निरन्तर पहल गर्दै आएको स्मरण गराउँदै उम्मेदवार भुसालले खानेपानी समस्याको दीर्घकालीन समाधान खोज्न आफू लागिपर्ने बताउनुभयो ।
राजधानीभित्रै रहे पनि आफ्नो क्षेत्रमा खानेपानी, बेरोजगारी, अव्यवस्थित शहरीकरणलगायत समस्यालाई आफूले नजिकबाट नियालेर समाधान गर्न प्रयत्न गरेकाे बताउनुभयाे । मन्त्री भुसालको पहलमा ललितपुरका प्रायः जसो टोलबस्तीमा भित्री सडक, पुल, ढल, खानेपानी, विद्यालय, स्वास्थ्य चौकीलगायत सडक निर्माण र स्तरोन्नति भएका छन् । सहकारी र रोजगारीका क्षेत्रमा पनि उल्लेख्य काम भएका छन् । घरदैलो अभियानका क्रममा उहाँले आफूले यसअघि थालनी गरेको विकासका कामलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

