कार्तिक २०, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सत्ता गठबन्धनले जनताको समृद्धिको चाहाना पूरा गर्ने बताएका छन् ।
आइतबार काठमाडौंको नार्गाजुन नगरपालिका ४ मा सत्ता गठबन्धनको संयुक्त निर्वाचन प्रचार प्रसार कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले पाँच दलीय सत्ता गठबन्धनले संविधानको रक्षा गर्दै जनताको समृद्धिको तीव्र चाहनालाई पुरा गर्ने बताएका हुन् ।
आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधि सभा सदस्यका लागि काठमाडौं क्षेत्र नं. ८ बाट उम्मेदवार रहेका मन्त्री श्रेष्ठले गरिबी, बेरोजगारी र मजदुरहरुका समस्याको दीर्घकालीन सामाधनका लागि सत्ता गठबन्धनको चुनावपछिको सरकारले प्रभावकारी नीति बनाउने समेत प्रतिबद्धता गरे ।
एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले संविधान मिच्दै संसद विघटन गरेर देशलाई प्रतिगमनतर्फ लैजान खोज्दा संविधानमा व्यवस्था भएका जनताका हक अधिकारको रक्षा गर्दै देशलाई विकास र समृद्धिको बाटोमा अघि बढाउन र प्रतिगमनलाई परास्त पार्नका लागि नै सत्ता गठबन्धन बनेको बताताए ।
उनले देशलाई पछि नभई अघि लैजानका लागि सत्ता गठबन्धनका उम्मेदवारहरुलाई चुनावमा मतदान गरेर विजयी गराउन आग्रह समेत गरे । मन्त्री श्रेष्ठले काठमाडौं क्षेत्र नं. ८ को समग्र विकासका लागि आफ्नो उम्मेदवारी रहेकाले आफूलाई मतदान गरेर विजयी गराउन मतदाता समक्ष आग्रह गरेका छन् ।

