गुल्मी २ मा झाँक्रीलाई एमालेका नेता गौतमले सघाउने

कात्तिक २०, रूपन्देही । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य शेषकान्त गौतमले सत्तारुढ गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीलाई सघाउने घोषणा गरेका छन् ।

गुल्मीको क्षेत्र नम्बर २ मा सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार झाँक्रीलाई जिताउन सघाउने उनले आइतबार पत्रकार सम्मेलन मार्फत घोषणा गरेका छन् । सो क्षेत्रमा एमालेको तर्फबाट उम्मेदवार बनेका सचिव गोकर्ण बिष्टलाई लक्षित गर्दै कुनै समय आफ्नै पार्टीको प्रधानमन्त्री ढलाउन सर्वोच्च पुग्ने अनि त्यही पार्टीमा बस्ने नैतिक पतन भएकाहरुलाई आफुले सहयोग गर्न नसकेको उनले आरोप लगाएका छन् ।

पहिले माधबकुमार नेपाललाई उक्साएर अगाडि बढाउने र पछि साथ छाडेर पनि जिल्लामा आई कुनै आत्मआलोचना पनि नगरेकाले बिष्ट प्रवृत्तिका बिरुद्ध आफू लागेको उनको भनाई छ । आफुले एमाले पार्टी नछाडेको तर पार्टीले कुनै कारवाही गरेमा त्यसको परिणम भोग्न तयार भएर नै यस्तो निर्णय गरेको उनको दाबी छ । कुनै राजनीतिक परिवारका कारण अगाडि नबढेकी र गुल्मेली गहना चेलीलाई समर्थन गरेर विजयी गराई पठाउन पनि उनले सम्पूर्ण गुल्मेलीहरुलाई आग्रह गरेका छन् ।

गुल्मी क्षेत्र नम्वर २ मा नेकपा एमालेका सचिब तथा उम्मेदवार गोकर्ण बिष्ट २०५६ सालदेखि २०६४ सालमा बाहेक निर्वाचित भएका छन् । २०६४ सालमा नेकपा माओबादी केन्द्रका चन्द्रबहादुर थापा (सागर) ले बिष्टलाई पराजित गरेका थिए । अहिले पहिलेका सहयात्री बिष्ट एमालेबाट र झाँक्री गठबन्धनको तर्फबाट चुनाबी मैदानमा छन् । यसअघि कफि विकास बोर्डमा कार्यकारी अध्यक्ष रहेका गौतम पार्टीभित्र असन्तुष्ट रहेका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.