देश र जनताको हितमा काम गर्ने पार्टी एमालेमात्रै हो – वरिष्ठ उपाध्यक्ष पोखरेल

कात्तिक १७, काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले देश र जनताको हितमा काम गर्ने पार्टी एमाले मात्रै भएको बताएका छन् ।

काठमाडौं ५ बाट प्रतिनिधिसभा सदस्यमा उमेदवारी दिएका पोखरेलले बिहीबार आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै देश र जनताको हितमा काम गर्ने पार्टी एमाले मात्रै भएको बताएका हुन् । उनले कुनै पार्टीहरू राजनीतिक स्थायित्वका लागि उभिन नसकेको भन्दै राजनीतिक स्थायित्व, आर्थिक विकास र समृद्धिका लागि एमालेलाई आगामी निर्वाचनमा जिताउन आवश्यक रहेको तर्क गरे ।

नेता पोखरेलले छिमेकीले नाकाबन्दी लगाएको बेलामा र आफ्नो भूमि फिर्ता लिने सन्दर्भमा एमालेबाहेक अरू कुनै पार्टीले दृढ अडान लिन नसकेको जिकिर गरे । त्यस्तै, उनले नेपाली नागरिकले आमाको नामबाट पनि नागरिकता पाउनुपर्छ भन्नेमा एमाले रहेको बताए । नेता पोखरेलले अंगीकृत नागरिकताको सन्दर्भमा सर्तकता अपनाउनुपर्ने भन्दै ठीक ढंगबाट अडान लिन नसके देशको स्वाभिमान, अस्तित्व र स्वतन्त्रतामाथि समेत आँच पुग्नसक्ने उल्लेख गरे ।

उनले चीन सरकारको सहयोगमा दोस्रो चरणमा निर्माण हुने चक्रपथ विस्तारलाई कलंकीदेखि धोबीखोलासम्म पुर्‍याउन पहिलादेखि गरिरहेको पहलकदमीलाई तीव्रता दिने पोखरेलले प्रतिबद्धता जनाए । नेता पोखरेलले स्थानीय निर्वाचनमा जारी एमालेको घोषणापत्र र प्रतिबद्धतापत्रको कार्यान्वयन गर्न केन्द्र र प्रदेश सरकारका तर्फबाट स्थानीय तहका जनप्रतिनिधहरूलाई विशेष सहयोग गर्ने बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.