स्कुल बसको झ्यालबाट टाउको निकाल्दा घाइते भएका बालकको मृत्यु

कात्तिक १७, काठमाडौँ । स्कुल बसको झ्यालबाट टाउको बाहिर निकाल्दा घाइते भएका बालकको मृत्यु भएको छ । रुखमा ठोक्किएर घाइते भएका बालकको बिहीबार बिहान करिब साढे दुई बजे उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो ।

बुधबार करिब साढे तीन बजेको समयमा काठमाडौं–२ लाजिम्पाटस्थित बेस्ट इलिमेन्टरी मन्टेश्वरी स्कुलको कक्षा ५ मा अध्यनरत १३ वर्षीय बालक घाइते हुनुभएको थियो ।

स्कुल छुट्टी भएपछि सोही स्कुलकै बा १ क ४६४२ नम्बरको बसमा चढी घर फर्कने क्रममा उक्त बसको पछाडिको सिटको झ्यालबाट टाउको बाहिर निकाल्दा गेट नजिकको रुखमा ठोक्किएर टाउकोमा गम्भीर चोट लागेकाले उपचारका लागि सोही स्कुलका व्यवस्थापकले उपचार गराउन त्रिवि शिक्षण अस्पतालमा लगिएकोमा आज मृत्यु भएको प्रहरी परिसर टेकुका प्रवक्ता दिनेशराज मैनालीले बताउनुभयो ।

उहाँका अनुसार प्रहरी वृत्त दरबारमार्ग प्रहरीले बस र बसका चालक रोशन अधिकारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । उहाँले भन्नुभयो, “बालबालिका वर्तमान र भविष्य भएकाले तिनको लालनपालन र रेखदेखमा उचित ध्यान पुर्याउनपर्ने हुन्छ, सानो असावधानीले ठूलो घटना हुन्छ तसर्थ, सम्बद्ध निकायले समयमै ध्यान पुर्याउन हुन प्रहरी परिसर अनुरोध गर्दछ ।”

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.