बिमस्टेक सम्मेलनको तयारी पूरा : राष्ट्रपतिले दिवाभोज, प्रधानमन्त्रीले रात्रीभोज दिने

भदौ ७, काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि वंगालको खाडी प्रयास (बिमस्टेक) को चौथो सम्मेलनको तयारी पुरा भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार सम्मेलनमा सबै सदस्य मुलुकका कार्यकारी प्रमुख आउने निश्चित भएको छ । सम्मेलन १४ र १५ भदौमा हुँदैछ भने १२ र १३ भदौमा परराष्ट्रमन्त्रीहरुको वैठक बस्ने तय भएको छ ।

 

सम्मेलनमा सहभागी सदस्य राष्ट्रका कार्यकारी प्रमुखलाई राष्ट्रपति विद्यादेवी भण्डारीले १४ भदौमा दिवाभोज दिने भएकी छन् । सोही साँझ प्रधानमन्त्री एवं बिमस्टेकका अध्यक्ष केपी शर्मा ओलीले उनीहरुको सम्मानमा रात्रीभोज दिनेछन् । ‘सबै सदस्य राष्ट्रबाट प्रतिनिधित्व सुनिश्चित भएको छ, प्रधानमन्त्रीज्यूले सम्मेलनको अध्यक्षता गर्नुहुनेछ’ परराष्ट्रद्धारा बुधवार जारी विज्ञप्तिमा उल्लेख छ ।, ‘ सम्मेलनले सहकार्यका सबै क्षेत्रहरुको समीक्षा गर्नेछ भने संगठनको भावि कार्यका लागि दिशानिर्देश गर्नेछ ।’ १५ भदौमा काठमाडौं घोषणापत्रमा हस्ताक्षर हुनेछ भने केही कानूनी प्राबधानका बिषयमा बेग्लै हस्ताक्षर हुनेछ ।

बिमस्टेकमा नेपाल, भारत, बंगलादेश, भूटान, म्यानमार, श्रीलंका र थाइल्याण्ड सदस्य छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशका प्रधानमन्त्री शेख हसिना, भूटानका प्रधानमन्त्री छिरिङ तोब्गे, म्यानमारका राष्ट्रपति विन मिन्त, श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला सिरिसेना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुथ चान ओचा आउने तय भएको छ । बिमस्टेक सचिवालयका महासचिव शहिदुल इस्लाम पनि सम्मेलनमा सहभागी हुनेछन् ।

म्यानमारका राष्ट्रपति विन १२ भदौमा नेपाल आउने तय भएको छ । विन र श्रीलंकाका राष्ट्रपति सिरिसेनाले भगवान गौतम बुद्धको जन्मस्थान लुम्बिनीको भ्रमण गर्ने समेत तय भएको छ । श्रीलंकाका राष्ट्रपति सिरिसेना र थाइल्याण्डका प्रधानमन्त्री चानले भ्रमणलाई औपचारिक बनाएका छन् । सम्मेलन सकिएपछि प्रधानमन्त्री ओलीसँग छुट्टाछुट्टै औपचारिक वार्ता गर्दैछन् ।
नयाँ पत्रिकाबाट

Satkar Media House
Leave A Reply

Your email address will not be published.