पाँच स्थानमा एकीकृत बस्ती विकास गरिने

भदौ ७, काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले विभिन्न तीन जिल्लामा एकीकृत बस्ती विकासको प्रारम्भिक योजना स्वीकृत गरेको छ ।

प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवाली नियुक्ति हुनुपछिको पहिलो पटक बुधबार बसेको बैठकले सिन्धुपाल्चोक, रामेछाप र काभ्रेपलाञ्चोक जिल्लाका पाँच स्थानमा एकीकृत बस्ती विकासको प्रारम्भिक योजनालाई स्वीकृत गरेको हो । स्वीकृत योजनाहरुमा सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउँपालिका वडा नं २, खर्कडाँडास्थित ४० घरधुरी भएको नोर्वुलिङ एकीकृत बस्ती, मेलम्ची नगरपालिका वडा नं १२ मा ७० घरधुरीको नम्डोललिङ एकीकृत बस्ती र भोटेकोशी गाउँपालिका वडा नं ५ को १० घरधुरी रहेको त्याङथली एकीकृत नमूना बस्ती रहेको प्राधिकरणले जनाएको छ । त्यस्तै रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नं ८ मा माझीहरूको २४ घरधुरी रहेको गाइखुरा एकीकृत बस्ती र काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं १० स्थित ३७ घरधुरी रहने तीनधारामा होमस्टेसहितको नमुना तामाङ बस्ती विकास योजनालाई पनि स्वीकृत गरेको छ ।

बैठकले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणअन्तर्गत रहेका केन्द्रीय आयोजना कार्यान्वयन इकाइहरूको लागि चार हजार ४१७ जना कर्मचारी दरबन्दी स्वीकृत गरेको छ । जसमा केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा)का लागि ४६३, केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन)का लागि इन्जिनियरसहित तीन हजार २५० र केन्द्रीय आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)का लागि ७०४ रहेका छन् ।

बैठकले गुनासो व्यवस्थापन सूचना प्रणालीको अभिलेखमा अन्यत्र बस्न योग्य घर भएका भनिएका व्यक्तिहरुको सूची प्रमाणित गर्न सम्बन्धित गाउँपालिका तथा नगरपालिका प्रमुख प्रशासकीय अधिकृतहरुलाई प्रमाणित गरी पठाउन निर्देशन दिने निर्णय पनि गरेको छ ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.