महोत्तरीमा कर्फ्यु कायमै, घटनास्थलमा व्यापक प्रहरी परिचालन

कात्तिक ११, महोत्तरी । महोत्तरीमा धार्मिक हिंसा नदिन जिल्ला प्रशासन कार्यालय महोत्तरीले निषेधाज्ञा (कर्फ्यु ) कायमै राखेको छ। हिंसा भड्किएको भंगहा नगरपालिका क्षेत्रमा कर्फ्यु कायमै रहेकाे हाे ।

भङ्गाहा नगरपालिका–८ पडरिया बस्तीमा बिहीबार भड्केको दङ्गा नियन्त्रण गर्न जिल्ला प्रशासनले पडरिया वरपर क्षेत्र तोकेर निषेधाज्ञा जारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले बताउनुभयाे । उनका अनुसार बिहीबार दिउँसाे ३ बजेदेखि जारी गरिएकाे कर्फ्यु आज पनि जारी छ।

भङ्गाहा नगरपालिका–८ को दक्षिणमा पर्ने पडरिया बस्तीको सम्पूर्ण क्षेत्र, उत्तरपूर्वमा पडरियाको ब्रह्मस्थान, उत्तरमा धर्मपुर बस्तीको दक्षिण, पूर्वमा लोहारपट्टी नगरपालिका–१ मा पर्ने बगडाचोक तथा पश्चिममा इलाका प्रहरी कार्यालय लोहारपट्टीस्थित पुलसम्म जिल्ला प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ।

यससम्बन्धमा थप अर्को आदेश जारी नभएसम्म घोषित क्षेत्रभित्र समूहमा हिँडडुल गर्न तथा बाहिरी क्षेत्रबाट सो क्षेत्रमा प्रवेश गर्न निषेध गरिएको प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले जारी गरेको आदेशमा उल्लेख छ।

पडरियामा ‘हिन्दू सम्राट सेना’ नामक सङ्गठनले निकालेको र्‍यालीको क्रममा भागदौड मच्चिएको थियो। सङ्गठनको र्‍यालीमा अज्ञात व्यक्तिले लुकीछिपी घुँयत्रो र ढुङ्गा हानेपछि तनाव बढेको प्रहरीले जनाएको छ ।

घटनालगत्तै पुगेको प्रहरी टोलीले भड्कँदो स्थिति नियन्त्रणमा लिन हवाई फायरसमेत गरेको थियो। अहिले घटनास्थलमा व्यापक मात्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.