आफू राम्रो र अरू नराम्रो भनेर प्रचार गर्न पाइँदैन – निर्वाचन आयोग

असोज ३१, काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न उमेदवारहरूलाई आग्रह गरेको छ । राजनीतिक दलका उमेदवार तथा स्वतन्त्र उमेदवारले चुनाव प्रचारप्रसार गरेको उजुरी परेसँगै आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न सचेत गराएको हो ।

न्युज एजेन्सी नेपालसँग निर्वाचन आचारसंहिता कन्द्रीय अनुगमन समितिका संयोजकसमेत रहेका आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिताअनुसार निर्वाचन हुने दिनभन्दा १७ दिन अगाडिदेखि (कात्तिक १८ गतेदेखि) मात्रै प्रचारप्रसार गर्न पाइने बताए । आयुक्त भण्डारीले उमेदवारले घरदैलो कार्यक्रम गर्न पाउने र त्यसमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने प्रावधानलाई पनि पालना गर्न सचेत गराए । घरदैलोमा बाजागाजा र तामझाम गरिरहेको उजुरी आयोगमा परेको भन्दै उनले त्यस्ता कार्य नगर्न आग्रह गरे । घरदैलोमा तामझाम र बाजागाजा गर्नु पनि आचारसंहिता विपरित हुने उनको भनाइ छ । आचारसंहिताको परिधिभित्र बसेर कानुनी सजाय नपाउनेगरी घरदैलो गर्न उनले उमेदवारहरूलाई आग्रह गरे ।

“उमेदवारहरूले आफू राम्रो र अरु नराम्रो भनि प्रचारप्रसार गर्न नपाइने उल्लेख छ । उमेदवारहरुलाई आफ्नो घोषणापत्र अनुरुप र आफूले गर्ने कामहरूको मात्रै प्रचारप्रसार गर्न हामीले भनेका छौँ,” उनले भने, “अरु दल र स्वतन्त्र उमेदवार नराम्रो भनेर प्रचार गर्न नपाइने आचारसंहितामा उल्लेख छ ।” आयुक्त भण्डारीले प्रचारप्रसारको क्रममा आचारसंहिता उल्लंघन भएमा आयोगले उमेदवारको मनोनयनपत्र खारेजसम्म गर्नसक्ने स्पष्ट पारे । “मेरो घोषणापत्र ठिक, अर्काको बेठिक भन्न पाइँदैन । कानुनको परिधिभित्र बसेर निर्वाचन प्रचारप्रसार गरिदिनुपर्यो । यदी निर्वाचन प्रचारप्रसार गर्दाखेरी यो आचारसंहीतालाई उल्लंघन गरिदिनु भयो भनेदेखि आयोगले कठोरतापूर्वक उहाँहरुलाई कारबाही गर्नुपर्छ,” उनले भने, “उहाँहरुको मनोनयनपत्र खारेज पनि हुनसक्छ ।”

आयुक्त भण्डारीले आयोगले हालसम्म थुप्रै उमेदवारलाई स्पष्टीकरण सोधिसकेको जानकारी दिए । स्पष्टीकरण चित्तबुझ्दो नभएमा थप कानुनी कारबाही अगाडि बढाइने र आचारसंसिहता पालना गराउने सन्दर्भमा आयोग निर्मम र निर्दयी भएर अघि बढ्ने स्पष्ट पारे ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.