असोज ३०, काठमाडौं । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा शनिबारदेखि बागलुङमा सुरु भएको आईटीएफ तेक्वान्दोको एकल प्याट्रनमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले तीन र गण्डकी प्रदेशले एक स्वर्ण पदक जितेका छन् ।
ब्लु बेल्टतर्फ आर्मीका धनसिँह परियार, ब्ल्याक बेल्ट पहिलो डानमा अर्मीकी भीमबहादुर तामाङ र महिला ब्लु बेल्टमा सुस्तिमा श्रेष्ठले स्वर्ण पदक जितेकी हुन् । रेड बेल्टतर्फ गण्डकी प्रदेशका भीमबहादुर गाहाले स्वर्ण पदक जित्दा लुम्बिनी प्रदेशका सन्देश सुनारले रजत पदकमा चित्त बुझाउन बाध्य भए ।
आईटीएफका एकल स्पाइरिङ, टिम स्पाइरिङ, एकल प्याट्रन र टिम प्याट्रनका बाँकी खेल आइतबार हुनेछ । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमका २५० खेलाडीले प्रतिस्पर्धा गरेका छन् । आईटीएफ तेक्वान्दोमा २९ स्वर्ण, २९ रजत र ५८ काश्य पदकका लागि प्रतिस्पर्धा हुदैछ ।

