भदौ ६, काठमाडौं । गोरखापत्र दैनिकका पूर्व प्रधानसम्पादक रामचन्द्र न्यौपानेको निधन भएको छ ।
पूर्व प्रधानसम्पादक न्यौपानेको आज बिहान चार बजे काठमाडौँ महानगरपालिका–२६ लैनचौरस्थित निवासमा निधन भएको उनका भतिजा सन्तोष न्यौपानेले जानकारी दिए । चौरासी वर्षीय न्यौपाने पछिल्लो समय उच्च रक्तचापबाट ग्रसित थिए । न्यौपानेले गोरखापत्र संस्थानमा करीब तीन दशक विभिन्न पदमा रहेर काम गरेका थिए ।
पछिल्लो समय उनी साप्ताहिक जनसत्ताका प्रधानसम्पादक थिए । न्यौपानेका दुई श्रीमती, तीन छोरी र दुई छोरा छन् । न्यौपानेको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने उनको पारिवारिक स्रोतले जनाएको छ ।