भदौ ६, काठमाडौं । नेकपाका सचिवालय सदस्य वामदेव गौतम अन्ततः डोल्पाबाट चुनाव लड्ने भएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री रहेका डोल्पाका नेकपा सांसद धनबहादुर बुढालाई राजीनामा गराई गौतम उपनिर्वाचन मार्फत प्रतिनिधिसभा सांसद बन्न लागेका हुन् । प्रतिनिधिसभा चुनावमा बर्दिया १ बाट पराजित गौतमलाई संसदमा ल्याउन नेकपाका दुवै अध्यक्ष (प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल) ले ग्रिन सिग्नल दिएपछि उनका लागि पर्यटन राज्यमन्त्री बुढा राजीनामा दिएर बाटो खोल्न तयार भएका हुन् । राज्यमन्त्री बुढाले एक चरण डोल्पाका दुई नगरपालिका त्रिपुरासुन्दरी र ठूलीभेरी नगरपालिका पुगेर जनतालाई जानकारी गराउने र काठमाडौं आई राजीनामा दिने तयारी गरेका छन् । बुढा ७ भदौमा डोल्पा जाँदैछन् ।
स्रोतका अनुसार उनले भदौ १२ मा राजीनामा दिने तयारी गरेका छन् । त्यसको पुष्टि उनले मंगलबार आफ्नै कार्यकक्ष सिंहदरबार पुगेका जिल्लाका प्रदेशसभाका सांसद, पूर्वमन्त्री नरबहादुर बुढाथोकी, जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, केही गाउँपालिकाका अध्यक्षसँगको छलफलमा गरेका हुन् । ‘उहाँ (राज्यमन्त्री) ले राजीनामा दिने पक्का पक्की भयो, पहिले डोल्पाका दुई तीन वटा गाउँ, नगरपालिका गएर जनतालाई आफ्ना कुरा राख्ने र त्यसपछि काठमाडौं आएर १५ गते भित्रै राजीनामा दिने सोचमा देखिनु भयो’, डोल्पा १ प्रदेशसभा २ का नेकपा सांसद वीरबहादुर शाहीले भने । बुढाले राजीनामा दिएपछि सरकारले त्यस क्षेत्रमा उपनिर्वाचनका लागि निर्वाचन आयोगसँग आग्रह गर्नेछ । उपनिर्वाचनमा गौतमलाई उम्मेदवार बनाउने योजनामा नेकपा छ । गौतमलाई सांसद बनाउने विषयमा सोमबारको नेकपा सचिवालय बैठकमा समेत नेता बीचमा सामान्य कुराकानी चलेको थियो ।
नेकपाको ९ सदस्यीय सचिवालयमा गौतम र नारायणकाजी श्रेष्ठ मात्र सांसद छैनन् । गौतम र श्रेष्ठ गत प्रतिनिधिसभा चुनावमा पराजित भएका थिए । गौतम डोल्पाबाट उपचुनाव लड्ने भए पनि श्रेष्ठले भने कसैलाई राजीनामा गराएर चुनाव लड्ने चाहना देखाएका छैनन् । संसद्बाट राजीनामा दिए पनि उनी ६ महिना सम्म मन्त्री पदमा रहन पाउनेछन् ।