‘के सोचें मैले, के भयो अहिले’ भन्ने गीत झैं भएको छ, २२ नेपालीको जीवन । आफ्नो तथा परिवारको खुशीका लागि वैदेशिक रोजगारीमा गएका २२ नेपाली अहिले कोमामा छन् । सरकारले उनीहरूलाई स्वदेश फर्काउने तयारी गरेको छ ।
कतारमा ११, साउदी अरबमा ५, बहराइन र युएईमा २÷२ जना नेपाली श्रमिक अचेत अवस्थामा जीवनमरणको दोसाँधमा छन् । कोमामा रहेका मध्ये २ जनाको परिवारसँग सम्पर्क छैन भने ठेगाना पनि खुलेको छैन । कोही त सात वर्ष देखि कोमामा छन् । दुर्घटना तथा रोग लागेर नेपाली श्रमिक कोमामा पुगेका हुन् । स्वास्थ्य तथा जनसंख्या सचिव डा. पुष्पा चौधरीले कोमामा रहेका नेपाली कामदारलाई स्वदेश ल्याउने पहल भइरहेको बताइन्। ‘तत्काल दुई जनालाई नेपाल ल्याउने प्रयास भइरहेको छ’, उनले भनिन् । कोमामा रहेका उनीहरूको उपचारमा सम्बन्धित मुलुकका नेपाली दूतावासले सहयोग गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नयाँ ठाउँमा जाँदा वातावरणीय प्रतिकूलता र मानसिक ‘एडजस्ट’ हुन गाह्रो हुँदा कोमामा गएको हुन सक्ने अनुमान छ ।
स्वास्थ्य सचिव डा. चौधरीले कोमामा पुग्नुको कारणबारे बृहत अनुसन्धान हुनुपर्ने खाँचो औंल्याइन् । श्रम मन्त्रालयका सहसचिव प्रकाश दाहालका अनुसार कोमामा रहेका २२ जना नेपाली श्रमिकलाई स्वदेश ल्याई उपचार गराउने व्यवस्था मिलाउन निर्देशिका एवं कार्यविधि तयार पारिएको छ । नेपालको स्वास्थ्य परीक्षण प्रणाली माथि मलेसिया, कोरियाले प्रश्न उठाउन थालेका छन् । तर स्वास्थ्य सचिव डा।चौधरीले यो कुरा अस्वीकार गर्दै भनिन्, ‘स्वास्थ्य परीक्षण राम्रो नहुँदा श्रमिकहरू विदेश गएर बिरामी भएको तर्क भरपर्दो छैन । वातावरण सहज नहुँदै काममा जाँदा शरीरले सहन सक्दैन । निजी कम्पनीले लामो समयसम्म काममा खटाउँदा पनि स्वास्थ्यमा असर परेको हो ।’ श्रमिकसँगै मेडिकल टिम पठाउन सके यस्ता समस्या केही कम हुने सचिव डा। चौधरीको तर्क छ ।
आजको अन्नपूर्ण पोस्ट्बाट