असोज ७, काठमाडौं। सशस्त्र प्रहरी बल, नेपालका नायव महानिरीक्षक (डीआईजी) बंशीराज दाहाल अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस गरिएको छ। गृह मन्त्रालयमा बिहीबार राति बसेको बढुवा समितिको बैठकले उनलाई एकल बढुवा सिफारिस गरेको हो।
बढुवा समिति सचिवालयका सदस्य सचिव राजु आर्यालले सिफारिस गरिएको सूचना जारी गरेका छन्। सरकारले २१ भदौको मन्त्रिपरिषद् बैठकबाट सशस्त्र प्रहरीमा एउटा एआईजी दरबन्दी थप गरेको हो। एआइजी बढुवासँगै सशस्त्रमा भावी आइजीपीका लागि उनको पनि प्रतिस्पर्धा हुने देखिएको छ। हालका आइजीपी अर्यालको कार्यकाल सकिएपछि अर्का एआइजी नारायणदत्त पौडेल र एआइजी दाहालबीच प्रतिस्पर्धा हुने देखिएको हो। २०८१ सालमा सीपी गौतमको अवकाश हुने भएपछि उनीहरुबीच प्रतिस्पर्धा देखिएको हो।
दाहालको बढुवासँगै नयाँ संगठनात्मक स्वरूप निर्धारण ९ओ एण्ड एम० अनुसार कार्य तथा सीमा विभाग फुटाइएको छ। जसअनुसार सीमा विभागमा बढुवा हुने एआईजीले कमाण्ड गर्नेछन् । उपत्यका बाहिनीमा रहेका डीआईजी दाहाल सिफारिस भएको सातदिनभित्र कुनै उजुरबाजुर नभए बढुवा हुनेछन्। उनी बढुवा बरियतामा एक नम्बरमा थिए। उनका प्रतिस्पर्धी किशोर प्रधान थिए ।सशस्त्र प्रहरीमा डीआईजी दाहाल हालका महानिरीक्षक राजु अर्यालकै ब्याची हुन्।

