असोज ६, काठमाडौं । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल नेकपा (एमाले) मा प्रवेश गरेका छन् । पूर्वमहानिरीक्षक खनाल बिहीबार एमालेमा प्रवेश गरेका हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा खनाललाई पार्टीमा स्वागत गरेका छन् । उनलाई स्वागत गर्नका लागि एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल लगायत नेताहरू कार्यक्रममा उपस्थित थिए । खनालले एमालेमा प्रवेश गर्न पाउँदा आफू हर्षविभोर भएको बताएका छन् । ओली प्रधानमन्त्री रहेकै बेलादेखि खनालले एमालेका लागि काम गर्दै आएका थिए । खनाललाई जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेको आरोप लागेको थियो ।
खनालसँगै राष्ट्रिय पुनर्जागरण पार्टीका महासचिव रविकिरण खनाल, विवेकशील साझा पार्टीका संस्थापक अब्दुस मिया, जसपाका नेता होरिलाल चौधरीलगायत एमालेमा प्रवेश गरेका छन् ।

