असोज ६, विराटनगर । गैर सरकारी संस्था महासंघ (गैसस) मोरङका अध्यक्ष राजेन्द्र ढकाल अप्राकृतिक मैथुन मुद्दामा कारागार चलान भएका छन्।
जिल्ला अदालत मोरङले बुधबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि ढकाललाई मोरङ जिल्ला कारागार चलान गरिएको छ। जिल्ला सरकारी वकिल कार्यालय मोरङले ढकालविरुद्ध मंगलबार अदालतमा अप्राकृतिक मैथुन मुद्दा दर्ता गरेको थियो। वादी नेपाल सरकार र प्रतिवादी ढकाल पक्षका कानुन व्यवसायीबीचको थुनछेक बहस सकिएपछि मुद्दामा अदालतले आदेश दिएको सूचना अधिकारी बुढाथोकीले बताए। विराटनगर महानगरपालिका १२ मा अभिभावकसँग बस्दै आएका १२ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको आरोप ढकालमाथि छ। उनीविरुद्ध प्रहरीमा किटानी जाहेरी पर्यो।
जाहेरी परेपछि प्रहरीले गत भदौ १६ गते पक्राउ गरेर ढकाललाई अनुसन्धानको दायरामा ल्याएको थियो। प्रहरीले अनुसन्धान सकेर मिसिल बुझाएपछि सरकारी वकिल कार्यालयले अभियोगपत्र तयार पार्दै ढकाललाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गरेको हो। ५० वर्षीय ढकाल एजुकेसन हेल्पलाइन नामक संस्थाका अध्यक्ष पनि हुन्।

