भदौ ६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम समुदायको महान पर्व इद उल अजहा (बकर इद) को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
सन्देशमा प्रधानमन्त्रीले भन्नुभएको छ, “बकर इदको अवसरमा नेपाली मुस्लिम समुदायका दिदीबहिनी तथा दाजुभाइहरुप्रति हार्दिक शुभकामना प्रकट गर्दै उन्नति, प्रगति र समृद्धिको कामना गर्दछु ।” सन्देशमा उहाँले बकर इदले नेपालीबीचको एकतालाई झन् प्रगाढ बनाउने विश्वाससमेत व्यक्त गर्नुभएको छ । सन्देशमा अगाडि भनिएको छ ‘‘संस्कृति, जात जाति, भेषभूषा र परम्पराको विविधता रहेको हाम्रो मुलुकमा यो पर्वले एकता र सहकार्यको वातावरणलाई अझ मजबुत बनाउन मद्दत गरोस् भन्ने कामना गर्दछु, ।’’
सन्देशमा प्रधानमन्त्री भन्नुभएको छ, ‘‘एकता र सहकार्यको उच्चतम अभ्यासबाटै हामीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय लक्ष्य पूरा गर्नेछौँ भन्ने कुरामा म विश्वस्त छु ।’’ यसैगरी, राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका संयोजक महन्थ ठाकुरले इस्लाम धर्मावलम्बीको पर्व बकर इदको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै सो अवसरमा सबै किसिमको विभेद र कुरिति विरुद्ध आफ्नो संघर्ष जारी राख्ने प्रतिवद्धता जाहेर गर्नुभएको छ । राज्यले इद पर्वको विदा कटौती गरेकोमा आपत्ति प्रकट गर्दै अध्यक्षमण्डलका सदस्य महेन्द्रराय यादवले इद पर्वको उपलक्ष्यमा राष्ट्रिय विदाको माग गर्नुभएको छ ।