भदौ ६, काठमाडौं । बिमस्टेक सम्मेलनका सहभागीलाई हुन सक्ने स्वास्थसम्वन्धि समस्याको निराकरण गर्ने जिम्मेवारी पाँचवटा सरकारी अस्पताललाई दिइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर, त्रिवि शिक्षण अस्पताल, पाटन, सिभिल र सैनिक अस्पताललाई स्वास्थ्यसम्वन्धि समस्या समाधान गर्ने फोकल प्वाइन्ट तोकेको छ । यसबाहेक मन्त्रालयले नेपाल मेडिसिटी, नर्भिक इन्टरनेशनल, काठमाडौँ मेडिकल कलेज (केएमसी) लाई पनि तयारी अवस्थामा रहन निर्देशन दिएइको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आकस्मिक स्वास्थ्य तथा प्रकोप व्यवस्थापन युनिटका प्रमुख चुडामणि भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, सम्मेलनस्थल र पाहुना बस्ने होटलमा समेत स्वास्थ्य युनिट खडा गरिने जानकारी दिनुभयो ।
युनिट प्रमुख भण्डारीले बिमस्टेक सम्मेलनमा आउने भिआईपीको स्वास्थ्य उपचारका लागि विमानस्थल, सम्मेलनस्थल र होटलमा ए ग्रेडका एम्बुलेन्ससहित चिकित्सक तथा स्वास्थ्यकर्मीलाई खटाइने जानकारी दिनुभयो । सम्मेलनमा भाग लिन भारत, भूटान, बंगलादेश, म्यानमार, श्रीलंका र थाइल्याण्डका सरकार प्रमुखहरू नेपाल आउनु हुनेछ ।