एक महिनामा २ अर्ब ४२ करोडको विद्युत् भारत निर्यात

असोज ४, काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०७९÷८० को दोस्रो महिनामा २ अर्ब ४२ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ ।

देशभित्र खपत गरी अतिरिक्त भएको २४ करोड ६५ लाख २९ हजार युनिट विद्युत् नेपाल विद्युत् प्राधिकरणले भदौमा निर्यात गरी २ अर्ब ४१ करोड ६७ लाख ८२ हजार रुपैयाँ आर्जन गरेको जनाएको छ । नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् गत १९ जेठबाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स( को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो । सुरुमा दुईवटा विद्युत्गृहको ३९ मेगावाट उत्पादित विद्युत्लाई स्रोत मानेर दैनिक रुपमा आइएक्समा बिक्री गरिएको थियो ।

त्यसपछि २७ जेठबाट दैनिक रुपमा ६ वटा जलविद्युत्गृहबाट उत्पादित विद्युत्लाई स्रोत मानेर दैनिक रुपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको छ । प्राधिकरणले जेठ, असार, साउन र भदौसम्ममा ७८ करोड ७८ हजार युनिट विद्युत् भारतीय बजारमा बिक्री गरी ७ अर्ब १९ करोड ८६ लाख रुपैयाँ आर्जन गरेको प्राधिकरणले जनाएको छ । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु) मा हुने भएकोले ४ महिनाको अवधिमा विद्युत् बिक्रीबाट ४ अर्ब ४९ करोड ९१ लाख भारु नेपाल भित्रिएको छ । भदौमा मात्र विद्युत् बिक्रीबाट १ अर्ब ५१ करोड ५ लाख रुपैयाँ भारु आम्दानी भएको छ ।

हरेक महिना विद्युत् निर्यात् बढ्दा यसबाट प्राप्त हुने रकमबाट (भारु( नेपालको विदेशी मुद्रा सञ्चिती र दुई मुलुकबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । “चालु आवमा विद्युत् निर्यातबाट करिब १६ अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेका छौं, मंसिरको पहिलो हप्तासम्म विद्युत् निर्यात गर्न सकिन्छ भने जेठपछि फेरि निर्यात सुरु हुँदा लक्ष्य पूरा हुने अनुमान गरेका छौं,” कार्यकारी निर्देशक घिसिङले भने, “अब चाडबाड पनि सुरु हुन लागेकोले उद्योग कलकारखाना बन्द हुँदा आन्तरिक खपत केही कम हुन्छ, तर हाम्रो उत्पादन भने पूर्ण क्षमतामा हुने हुँदा करिब २ सय मेगावाट थप विद्युत् निर्यातको सहमतिका लागि प्रस्ताव पठाएका छौं, भारतीय पक्षबाट थप विद्युत् निर्यातका लागि छिट्टै सहमति दिनेमा विश्वस्त छौं ।”

आइएक्समा २४ घण्टालाई १५–१५ मिनेटको ९६ वटा ब्लकमा विभाजन गरी बजारले तय गरेको प्रतिश्पर्धी दरमा विद्युत्को कारोबार गरिन्छ । त्यसैले हरेक ब्ल्कको मूल्य फरक–फरक हुने गरेको छ । प्राधिकरणले भदौमा निर्यात गरेको विद्युत्को औसत दर प्रतियुनिट ९ रुपैयाँ ८० पैसा रहेको छ । चार महिनाको औसत दर प्रतियुनिट ९ रुपैयाँ २३ पैसा छ ।

थप १०० मेगावाट निर्यात प्रस्ताव

नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको थप १००।९ मेगावाट विद्युत् इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स) को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्रीको प्रस्ताव गरेको छ । प्राधिकरणले केही दिनअघि ४ जलविद्युत्गृहबाट उत्पादित विद्युत्लाई स्रोत मानी आइएक्समा प्रतिश्पर्धाबाट बिक्रीका लागि भारत सरकारको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणमा अनुमतिका लागि प्रस्ताव पेश गरेको प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि प्राधिकरणले ४ जलविद्युत् आयोजनाबाट उत्पादित १११ मेगावाट विद्युत् निर्यात अनुमतिका लागि प्रस्ताव पेश गरेको थियो । थप ४ जलविद्युत् आयोजनाको प्रस्तावसँगै प्राधिकरणले ८ जलविद्युत् आयोजनाबाट उत्पादित २१२.७ मेगावाट विद्युत् निर्यातका लागि प्रस्ताव पेश गरेको हो । निजी क्षेत्रले निर्माण गरेका २९.०४ मेगावाटको लिखूखोला ए, २५ मेगावाटको काबेली बी–१, २२ मेगावाटको माईखोला, १४.९ मेगावाटको हेवाखोला ए र १० मेगावाटको तल्लो मोदी–१ जलविद्युत्गृहबाट उत्पादित १००.९ मेगावाट विद्युत् निर्यातको प्रस्ताव गरिएको छ ।

यसअघि ४२ मेगावाटको मिस्त्रीखोला, २४.२ मेगावाटको लिखूखोला ‘ए’, २३.५ मेगावाटको सोलूखोला, २२.१ मेगावाटको चिलिमेको विद्युगृहबाट उत्पादित १११.८ मेगावाट विद्युत् निर्यातको प्रस्ताव स्वीकृतिका लागि पेश गरिएको थियो । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले थप विद्युत् निर्यातका लागि भारत सरकारबाट छिट्टै अनुमति प्राप्त हुने विश्वास व्यक्त गरे ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.