भदौ २७, काठमाडौं । सरकारले प्राकृतिक विपद्को सामना गरिरहेको छिमेकी राष्ट्र पाकिस्तानलाई आर्थिक सहयोग गर्ने भएको छ । गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै पाकिस्तानलाई दुई करोडको आर्थिक सहयोग दिन लागेको जनाएको छ ।
बाढीबाट प्रभावितहरूका लागि नेपाल सरकारको तर्फबाट सहायतास्वरूप पाकिस्तान सरकारलाई दुई करोड बराबरको राहत सामग्रीहरू प्रदान गर्ने नेपाल सरकार मन्त्रिपरिषदबाट २०७९÷०५÷२१ मा निर्णय भएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
नेपाल सार्कको अध्यक्ष मुलुक हो । क्षेत्रीय सहयोग र सहकार्य गर्ने भनेर नै सार्कको स्थापना भएको थियो । विगतमा सार्क मुलुकमा आउने विपद्लाई हेरेर नै नेपालले सहायता गरेको थियो । सार्क मुलुकमध्येको कान्छो अफगानिस्तानलाई तालिबानले लिएपछि त्यहाँ मानवीय संटकमा परेको भन्दै संयुक्त राष्ट्रसंघ (यूएन) ले सहयोगको आह्वान गरेपछि नेपालले विमान चार्टर्ड गरेर खाद्यान्न, औषधि र कपडा गरी १४ टन सामग्री गत माघमा पुर्याएको थियो ।
जुन मध्यदेखिको वर्षाका कारण पाकिस्तानमा आएको बाढीले कम्तीमा एक हजार १६२ जनाको ज्यान लिइसकेको छ । देशभर सडक, बाली, घर र पुलहरू बगेका छन् । दसौँ लाख मानिसहरू विस्थापित भएका छन् । बाढीका कारण पानीजन्य रोगको जोखिम बढेको छ । विज्ञहरूले जलवायु परिवर्तनका कारण बाढी आएको बताएका छन् ।


