सिट बाँडफाँट न्यायोचित र स्वाभाविक ढङ्गले सम्पन्न हुन्छ : मन्त्री कार्की

भदौ २१, काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सत्ता गठबन्धन दलहरूबीच सिट बाँडफाँट न्यायोचित र स्वाभाविक ढङ्गले सम्पन्न हुने बताएका छन्।

नेपाल प्रेस युनियन केन्द्रीय समितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूका लागि आज यहाँ आयोजित बधाई तथा सम्मान कार्यक्रममा उनले गठबन्धन दलहरूबीच सिट बाँडफाँटको विषय सकारात्मकरूपमा अघि बढेको र छिट्टै टुङ्गोमा पुग्ने उल्लेख गरे। मुलुकलाई संविधान र समृद्धिको बाटोमा हिँडाउन गठबन्धन जरुरी रहेको उल्लेख गर्दै मन्त्री कार्कीले हिजो संविधान र लोकतन्त्र जोगाउनकै लागि गठबन्धन बनेको बताए। “गठबन्धन दलहरुको सिद्धान्त फरक छ तर मुलुकको स्वाधीनता, लोकतन्त्र र जनताको हितका पक्षमा हाम्रो धारणा साझा छ। गठबन्धन कसैका विरुद्ध बनेको होइन”, उनले भने।

आगामी मङ्सिर ४ गते स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको मन्त्री कार्कीको भनाइ थियो। फरक प्रसङ्गमा उनले अबको १० वर्षमा नेपाललाई सम्पन्न, समृद्ध र सभ्य बनाउन तथा दक्षिण एसियाकै धनी राष्ट्र बनाउन आफूहरूले काम गरिरहेको उल्लेख गरे।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.