भदौ ५ काठमाडौं । देशव्यापी रुपमा स्थानीय तहले कर वृद्धि गरेको भन्दै चौतर्फि विरोध र आक्रोश भइरहेको बेला काठमाडौं महानगरपालिकाले विभिन्न ११ शीर्षकमा कुनै पनि कर नलिने जानकारी दिएको छ ।
महानगरले भदौ ४ गते एक सार्वजनिक सूचना मार्फत ११ वटा फरक फरक विषयमा कर नलिने र अरु केही विषयमा सामान्य मात्रै कर लिने निर्णय भएको जानकारी दिएको हो । महानगरले छात्रवृत्ति सिफारिश, विपन्न विद्यार्थी सिफारिश, अपांगता भएका नागरिकको सिफारिश, नागरिकता, आर्थिक अवस्था कमजोर भएको सिफारिश, अदालत शुल्क मिनाहा सिफारिश, नाबालक सिफारिश, जन्म, मृत्यु, विवाह, बसाइ सराइ, जन्मदर्तामा कुनै शुल्क नलाग्ने बताएको छ ।
यस्तै ३५ दिन भित्र सम्बन्ध विच्छेद गरेको जानकारी गराए मात्रै ८ रुपैयाँ शुल्क लिने भएको छ । त्यस्तै ७० दिनपछि जहिल्यै पनि ५० रुपैयाँ मात्रै सम्बन्ध विच्छेदको सिफारिशका लागि लिने निर्णय गरेको छ । यस्तै गोरखा भूकम्का कारण प्रभावित ‘क’ वर्गको प्रमाणपत्रका आधारमा घर निर्माण दस्तुर समेत शत प्रतिशत निुशल्क गरेको महानगरको भनाइ छ । महानगरले आर्थिक वर्ष २०७४÷ ७५ मा घर जग्गा कर न्यूनतम ९०० रुपैयाँ लिदै आएकोमा चालु आवमा न्यूनतम दर पहिलो १ करोडमा मूल्यसम्म ०.०१ प्रतिशत मात्र लिने व्यवस्था गरेको छ । प्रति १० लाखमा १०० रुपैयाँ मात्रै लिने व्यवस्था गरेको छ ।


