भदौ १५, काठमाडौं । प्रधानमन्त्री तथा प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि कांग्रेसले जित्नसक्ने ठाउँ नछाड्न दबाब परेको छ । गठबन्धनका नाममा पार्टीले जित्ने आधार भएका ठाउँमा सम्झौता नगर्न उनीमाथि नेताहरूको दबाब परेको हो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकमा कांग्रेसको मत र कार्यकर्ताको भावना सम्बोधन हुने गरी गठबन्धन गर्नुपर्नेमा नेताहरूले जोड दिएका छन् । नेता रामचन्द्र पौडेलका अनुसार बैठकमा सहभागी नेताहरूले आफूहरू गठबन्धनप्रति प्रतिबद्ध रहे पनि जितको आधार क्षेत्र छाड्न नहुनेमा जोड दिएका थिए । साथै, नेताहरूले ६० प्रतिशत आफूले राखेर मात्रै गठबन्धन गर्नुपर्नेमा जोड दिए ।
नेता अर्जुननरसिंह केसीले ६० प्रतिशतको बटमलाइन राख्ने र अन्तिममा ५५ प्रतिशतमा मिल्नुपर्ने धारणा राखेका थिए । साथै, बैठकमा गठबन्धनको पक्षमा एक स्वर बनाउनुपर्ने विषयमा पनि सबैले सहमति जनाएको नेता पौडेलले जानकारी दिए ।

